काठमाडौं, २० असाेज । दसैँमा घर जाने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले राष्ट्रिय बसपार्क गोंगबु लगायतका स्थानबाट बिहान करिब ७ बजेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दुई दिनको सार्वजनिक बिदाको समयलाई यात्रुहरूले सदुपयोग गर्न सक्ने गरी अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार असोज २३ गते बिहानदेखि गोंगबुस्थित राष्ट्रिय बसपार्क लगायतका विभिन्न स्थानमा अग्रिम टिकट बुकिङ खुला हुनेछ । दसैँको समयमा लाखौँ यात्रु घर फर्किने भएकाले यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन व्यवसायीहरू तयारीमा रहेको उहाँले बताउनुभयो ।
सिटौलाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यातायात भाडा फेरि बढ्न सक्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । केही दिनअघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढेको उल्लेख गर्दै उहाँले अबको १०–१२ दिनमा लाखौँ यात्रुलाई घर गन्तव्यमा पुर्याउनुपर्ने भएकाले बीचमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढे त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो ।
उहाँले पेट्रोलियम पदार्थको मूल्यमा पटक–पटक हुने उतारचढावका कारण यात्रु र यातायात व्यवसायी दुवैलाई समस्या पर्ने भन्दै भाडामा अनावश्यक वृद्धि नगर्ने प्रतिबद्धता जनाउनुभयो ।
“पेट्रोलियम पदार्थको बीचमा जिगज्याग हुनु हुँदैन । जे भाडा तोकिएको छ, गाडीको वर्गअनुसारको भाडाभन्दा अरू भाडा बढ्दैन । जे भाडा छ, त्यही भाडामा मेची–महाकाली यात्रुलाई गन्तव्यसम्म पुर्याउने काममा व्यवसायीहरू लाग्नेछौँ,” सिटौलाले भन्नुभयो । दसैँको समयमा यात्रुको चाप बढ्ने भएकाले टिकटमा तोकिएकोभन्दा बढी रकम असुल्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा यात्रुलाई दुःख दिने गतिविधि हुन नदिन सम्बन्धित निकायले पनि अनुगमन गर्नुपर्ने देखिन्छ ।
