काठमाडौं, २० असाेज । विद्यालय प्रणालीका लागि थप स्रोतसाधनको माग गर्दै फ्रान्समा सुरु भएको विद्यार्थी आन्दोलन झन् चर्किएको छ । हप्तौँदेखि जारी आन्दोलनका क्रममा देशभरका सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित भएका छन् ।
मङ्गलबार विद्यार्थीले विभिन्न विद्यालयमा अवरोध सिर्जना गर्नुका साथै उनीहरूको आन्दोलनको समर्थनमा वयस्क प्रदर्शनकारीले पनि र्याली निकालेका छन् । पेरिसको २०औँ जिल्लामा रहेको ‘हेलेन बुचर’ उच्च माध्यमिक विद्यालयको प्रवेशद्वारमा प्रदर्शनकारीले फोहोरका डब्बा र साइकल राखेर अवरोध सिर्जना गरेका थिए ।
देशभरका सयौँ विद्यालय मङ्गलबार पनि बन्द रहेका थिए । विद्यालयमा तोडफोडका घटना बढ्नुका साथै कर्मचारी, विद्यार्थी र प्रहरी घाइते हुन थालेपछि अधिकारीहरूले गत सातादेखि केही विद्यालय बन्द गराउन थालेका हुन् ।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार मङ्गलबार राजधानी पेरिससहित विभिन्न सहर तथा नगरमा प्रदर्शन भएको छ । मजदुर युनियनको आह्वानमा भएको र्यालीमा प्रदर्शनकारीले झण्डा र प्लेकार्ड बोकेर विद्यार्थी आन्दोलनप्रति समर्थन जनाएका थिए । राष्ट्रपति इम्यानुएल म्याक्रोनको सरकारमाथि समेत दबाब बढाउने गरी अघि बढेको आन्दोलनमा विद्यार्थीले विद्यालयमा पर्याप्त स्रोतसाधन र अवसर उपलब्ध गराउन माग गरेका छन् ।
प्रदर्शनकारीका अनुसार कतिपय विद्यालयमा डेस्क र कुर्सीजस्ता आधारभूत सामग्रीको समेत अभाव छ । गर्मीका समयमा वातानुकूलनको व्यवस्था नहुँदा कक्षाकोठा अत्यधिक तात्ने, केही विद्यालयमा मुसाको समस्या रहेको तथा कर्मचारीको अभाव र अत्यधिक कार्यभार रहेको उनीहरूको गुनासो छ ।
प्रदर्शनका क्रममा प्रहरीको कारबाहीलाई लिएर पनि विवाद बढेको छ । प्रदर्शनकारीमाथि व्यापक रूपमा गिरफ्तारी, अश्रुग्यास तथा दङ्गा नियन्त्रणका हतियार प्रयोग गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ । सोमबारको घटनामा १५ वर्षीय एक किशोरको हात प्रहरीको ‘स्टन ग्रेनेड’का कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको बताइएको छ । यस्ता घटनाले विद्यार्थी, अभिभावक र शिक्षकमा थप आक्रोश बढाएको छ ।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले भने प्रहरीको प्रतिक्रिया अधिकांश घटनामा परिस्थितिअनुसार उचित रहेको दाबी गरेका छन् । उनका अनुसार आन्दोलनका क्रममा हालसम्म प्रहरीले ६ हजार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ भने ७१५ जना प्रहरी अधिकारी घाइते भएका छन् ।
विद्यालयमा अवरोध र प्रदर्शन सेप्टेम्बरको मध्यतिर पेरिस क्षेत्रबाट सुरु भएको थियो । त्यसपछि आन्दोलन अन्य सहर तथा नगरमा फैलिएको हो । विद्यार्थी आन्दोलनको मुख्य माग फ्रान्सको राष्ट्रिय आदर्श वाक्य ‘स्वतन्त्रता, समानता, भ्रातृत्व’को भावनाअनुसार सबै विद्यालयका विद्यार्थीलाई समान स्रोत र अवसर उपलब्ध गराउनुपर्ने रहेको छ । फ्रान्सेली उच्च माध्यमिक तहका विद्यार्थीको अनिवार्य कक्षाकोठा समय युरोपमै सबैभन्दा धेरैमध्ये एक रहेको बताइएको छ ।
