बागलुङ । धार्मिक तीर्थस्थल एवं यहाँको प्रमुख पर्यटकीय स्थल पञ्चकोट धाममा अहिले आन्तरिक पर्यटक आउँन थालेका छन् । पूर्वाधार निर्माण भइसकेको अवस्थामा अहिले १५ दिने ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ चलिरहेको छ । ‘विश्व शान्ति कलश’ निर्माण गर्न यो महायज्ञ चलेको हो । बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट क्षेत्रमा धार्मिक पर्यटकी गन्तव्य धेरै छन् । सर्वसिद्धिधाम पञ्चकोट, मुक्तिनाथ बाबा पुग्नेहरूको संख्या बढ्दो क्रममा छ।
मुस्ताङको मुक्तिनाथ, चितवन र भारतमा समेत बसेर तपस्या गरेर फर्किएका मुक्तिनाथ बाबा कमलनयनाचार्यले यस ठाउँलाई धार्मिक तीर्थस्थलको रूपमा बदल्न देखेको सपना अब साकार हुन थालेको छ। पञ्चकोटका परिकल्पनाकार कमलनयनाचार्य बागलुङ नगरपालिका ६ भान्सामा जन्मिएका हुन् । मुस्ताङको मुक्तिनाथ, चितवन र भारतमा बसेर उनले तपस्या गरेका हुन । तपस्याकै क्रममा मुक्तिनाथ बस्दा उनी काठमाडौंदेखि भारतसम्म आवतजावत गर्ने गरेको स्मरण गर्थे ।
महायज्ञको लागि जन्मगाउँ आएको बेला आफूलाई दैविक निर्देशन भएकाले जन्म ठाउँलाई धार्मिक तीर्थस्थलको रूपमा बदल्न लागिपरेको स्वामी कमलनयनाचार्यको भनाइ छ। जिल्लाकै पर्यटकीय एवं धार्मिक गन्तव्यको रूपमा विकास भइरहेको पञ्चकोट विभिन्न पाँचवटा कोटहरूको एकीकृत विकासको रूप हो । ताराजालकोटको रूपमा परिचित स्थान अहिले पञ्चकोटको रूपमा चर्चित धाम बनेको छ।
ताराजालकोट, कारिकोट, माझकोट, रायँरायँकोट र संसारकोटलाई प्रतीकात्मक रूपमा एकै ठाउँमा विकास गरेर पञ्चकोट नामकरण गरिएको स्वामी कमलनयनाचार्यका उत्तराधिकारी ऋषि प्रपन्नार्यको भनाइ छ। गण्डकी प्रदेश शालिग्राम पाइने विश्वमै एकमात्र नदी कालीगण्डकी किनार र यस आसपासको क्षेत्र पवित्र पुण्यभूमि र मुक्तिक्षेत्र भूमि भएकाले यहाँ सबैतिर भगवानको बास भएको मुक्तिनाथ बाबाको भनाइ छ। शनिबार र अन्य बिदाका दिनमा पञ्चकोटमा घुम्नेहरुको घुइँचो लाग्ने गर्दछ ।