दश वर्षपछि बढाइयो हिमाल आरोहण शुल्क, सगरमाथा चढ्न वसन्तमा विदेशीलाई १५ हजार डलर

दश वर्षपछि बढाइयो हिमाल आरोहण शुल्क, सगरमाथा चढ्न वसन्तमा विदेशीलाई १५ हजार डलर

मुख्य बुँदा

दश वर्षपछि पहिलो पटक हिमाल आरोहण शुल्क बढाइयो।

विदेशीका लागि सगरमाथा आरोहण शुल्क वसन्तमा १५ हजार, शरदमा ७५००, शिशिर/वर्षामा ३७५० डलर।

नेपालीका लागि वसन्तमा १.५ लाख, शरदमा ७५ हजार, अन्य याममा ३५ हजार रुपैयाँ।

सगरमाथाबाहेक ८ हजार मिटरमाथिका हिमालमा ३ हजार, १५०० र ७५० डलर कायम।

सात हजार मिटरभन्दा मुनि पनि शुल्क दोब्बरभन्दा बढी बढाइयो।

नयाँ शुल्क सोमबारदेखि लागू, २०१५ पछि पहिलो संशोधन।

काठमाडौं, १७ भाद्र । पर्यटन विभागले सगरमाथासहित विभिन्न हिमाल आरोहण शुल्क दश वर्षपछि बढाएको छ। विभागका निर्देशक हिमाल गौतमका अनुसार ‘पर्वतारोहणसम्बन्धी छैटौँ संशोधन नियमावली, २०५९’ अनुसार सोमबारदेखि नयाँ शुल्क लागू भएको हो।

सन् २०१५ जनवरी १ पछि स्थिर रहेको शुल्कलाई बढाइएपछि अब विदेशी आरोहीले वसन्त ऋतुमा सगरमाथा दक्षिणपूर्वी मार्गबाट आरोहण गर्न १५ हजार अमेरिकी डलर बुझाउनुपर्नेछ। त्यस्तै शरद ऋतुमा ७५०० डलर र शिशिर तथा वर्षा ऋतुमा ३७५० डलर लाग्नेछ। हालसम्म शरदमा ५५०० डलर र शिशिर/वर्षामा २५०० डलर मात्र लिइँदै आएको थियो।

सगरमाथाको अन्य मार्गबाट आरोहण गर्दा वसन्तमा १० हजार डलर, शरदमा ५ हजार डलर र शिशिर/वर्षामा २५०० डलर तोकिएको छ।नेपाली आरोहीका लागि सगरमाथा आरोहण शुल्क वसन्तमा १ लाख ५० हजार रुपैयाँ, शरदमा ७५ हजार र अन्य याममा ३५ हजार कायम गरिएको छ।

सगरमाथाबाहेकका ८ हजार मिटरभन्दा माथिका अन्य हिमालमा विदेशीलाई वसन्तमा ३ हजार, शरदमा १५०० र अन्य याममा ७५० डलर शुल्क निर्धारण गरिएको छ। यस्तै सात हजार ५०१ देखि ८ हजार मिटर उचाइसम्मका लागि क्रमशः १०००, ५०० र २५० डलर लाग्नेछ।७००० देखि ७५०० मिटर उचाइसम्मका हिमाल आरोहणमा ८००, ४०० र २०० डलर तोकिएको छ भने ६५०१ देखि ६९९९ मिटरका लागि ५००, २५० र २०० डलर लाग्नेछ।

६५०० मिटरभन्दा तलका हिमाल आरोहणका लागि शुल्क ३५०, १७५ र १८५ डलर पुगेको छ। यसअघि यो दर २५०, १२५ र ७० डलर मात्र थियो। विभागका अनुसार नयाँ शुल्क संरचना राजस्व वृद्धिसँगै हिमाल आरोहणलाई व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको हो।

 


Thali Mobile Pvt.Ltd.