भर्खरै : Sorry, your browser does not support inline SVG.

राहतमा राजनीति किन, के भन्छ संसदीय समिति ?

राहतमा राजनीति किन, के भन्छ संसदीय समिति ?

जाजरकोट । रुकुम पश्चिममा राहतमा राजनीति भएको भन्ने समाचार बाहिरिएपछि भूकम्प प्रभावित क्षेत्रमा रहेको संसदीय समितिले पनि राहत वितरण सन्तुलित नभएको ठहर गरेको छ । आवश्यकताभन्दा पहुँचको भरमा राहत वितरण भइरहेको गुनासो लिएर संसदीय समिति फिर्ता भएको छ ।

प्रभावित दुवै जिल्लालाई लक्षित गरी गएको राहत माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफ्नो निर्वाचन क्षेत्र रुकुम पश्चिमतर्फ तान्दा जाजरकोटवासीले पीडाका चाङ सुनाएका छन् ।

ती गुनासा संसदीय समितिमा पनि पुगे । काठमाडौंबाट पठाइएका सामान बीचबाटै गायब हुन थाल्यो भने समस्या निम्तिने राज्य व्यवस्था समितिले ठहर गरेको छ । त्यसैले त्यसको खोजविन पनि समितिले गरिरहेको सभापति रामहरि खतिवडाले बताए । जाजरकोटका २० प्रतिशत पीडितका घरमा अहिलेसम्म सामान्य राहत पनि नपुगेको गुनासो छ । दल विशेषले, नेता विशेषले पीडितलाई समान व्यवहार नगरेको गुनासो त कति छ कति ।

आफ्नो मतदाता र निर्वाचन क्षेत्र नभएका स्थानमा राहत प्याकेज कम जाने गरेको पीडितले बताएका छन् । कार्यकर्ता, निर्वाचन क्षेत्र, जातपात, धर्म हेरेर दिन थालिएको गुनासो त सुनिनसक्नु छ । यस्तो बेला पार्टीभन्दा माथि उठ्नु पर्ने, मत हामीले पनि हालेका थियौं भनेर दलित परिवारहरुले गुनासो गरेका छन् । जातभात भन्ने कुरा बल्ल बुझियो भनेर पीडित दलित परिवारका मानिसले बताए ।

तर यता माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गरी राहतमा राजनीति नभएको प्रतिक्रिया दिएका छन् । राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली लागू गरेको छ । तर, रुकुम पश्चिम र जाजरकोटमा भने हालत यस्तो छ ।

काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक सल्लीबजारबाट रुकुम पश्चिमतर्फ मोडिएपछि रहस्य बाहिरिएको थियो । उक्त सामान खोजबिन हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा वितरण गर्न थालिएको थियो । जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले राहत सामग्री बाटोबाटै ‘हाइज्याक’ गरिएकोमा आपत्ति जनाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.