काठमाडौं । विपक्षी दलको अवरोधकैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । संसद बैठक सुरु भएलगत्तै नेपाली कांग्रेससहित विपक्षी दलहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
सभामुखले बस्न आग्रह गरे पनि उनीहरुले नमानेपछि वेल घेराउ गर्दै सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए । विश्वासको मतको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बोले । विश्वासको मत बहुमतले पाएका छन् ।
प्रचण्डले संसदमा चौथो पटक विश्वासको मत पाएका हुन् । विश्वासको मतको प्रस्तावको पक्षमा १५७ मत खस्यो भने विपक्षमा शून्य मत खसेको छ । एक सांसद भने तटस्थ बसे । बैठकमा १५८ मत खसेको थियो ।
सभामुख देवराज घिमिरेले उक्त मत सुनाएलगत्तै प्रधानमन्त्री प्रचण्डले बहुमत प्राप्त गरेको घोषणा गरे । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । प्रचण्डले त्यसअघि २६ पुस २०७९ मा पहिलो पटक र ६ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए।
पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई मत दिएका थिए। दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए ।गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् ।
