काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी रहेको छ । पछिल्लो विवरणअनुसार हालसम्म मतगणना भइरहेका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले उल्लेख्य अग्रता बनाएका छन् ।
मतगणना भइरहेका क्षेत्रमध्ये ४१ स्थानमा रास्वपा उम्मेदवार अग्रस्थानमा रहेका छन् । त्यसैगरी एमाले ५, नेपाली कांग्रेस ३ र नेकपा २ क्षेत्रमा अग्रता कायम गरेका छन् । काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरूले बलियो उपस्थिति देखाएका छन् । काठमाडौं–१ मा रञ्जु न्यौपाने, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–१० मा प्रदीप विष्ट, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल र काठमाडौं–२ मा सुनिल के.सी. अग्रस्थानमा रहेका छन् ।
त्यसैगरी चितवन–२ मा रवि लामिछाने, ललितपुर–३ मा तोसीमा कार्की, झापा–२ मा इन्दिरा राना मगर, तनहुँ–१ मा स्वर्णिम वाग्ले, झापा–५ मा बालेन्द्र शाह (बालेन) लगायतका उम्मेदवारहरू पनि अग्रता कायम गर्दै अघि बढिरहेका छन् । अन्य क्षेत्रहरूमा पनि रास्वपा उम्मेदवारहरूले राम्रो प्रदर्शन गरिरहेका छन् । रूपन्देही, मोरङ, कास्की, बाँके, स्याङ्जा, कञ्चनपुर, दाङ, बारा, रौतहट, महोत्तरी, भक्तपुर लगायतका जिल्लाका विभिन्न क्षेत्रमा उनीहरू अग्रस्थानमा रहेका छन् ।
यसैबीच नेपाली कांग्रेस पनि केही क्षेत्रमा प्रतिस्पर्धामा देखिएको छ। ललितपुर–१ मा उदयशमशेर जबरा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह र कैलाली–१ मा जनकराज चौधरी अग्रता लिइरहेका छन् । त्यसैगरी नेकपा तर्फबाट रूकुम पूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कालीकोट–१ मा महेन्द्रबहादुर शाही अग्रस्थानमा रहेका छन् ।
देशभर मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ। विभिन्न क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएकाले मतगणनाको नतिजा क्रमशः परिवर्तन हुन सक्ने सम्भावना पनि रहेको छ ।