काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) का लागि पाइपलाइनमा रहेका कम्पनीको संख्या ८० पुगेको हो ।
विभिन्न क्षेत्रका ८० वटा कम्पनीको ३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर आईपीओका लागि बोर्डको प्रक्रियामा छ । होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले तीन अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको तीन करोड ५३ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न निवेदन दिएका छन् ।
साथै ४० वटा जलविद्युत् आयोजनाले कूल १६ अर्ब ४१ करोड ३० लाख ७९ हजार चार सय बराबरको १६ करोड ३६ लाख पाँच हजार चार सय ६४ कित्ता बराबर आईपीओ जारी गर्नका लागि प्रक्रियामा रहेका छन् ।
धितोपत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपीओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कूल ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार पाँच सय ९६ बराबरको आईपीओ पाइपलाइनमा छ ।
लगानी समूहअन्तर्गत तीन वटा कम्पनीले दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार बराबरको एक करोड ५६ लाख ७३ हजार पाँच सय कित्ता आईपीओ जारी गर्नका लागि पाइपलाइनमा छन् ।
उत्पादन तथा प्रशोधनतर्फ १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार छ सय ९६ बराबरको नौ करोड १६ लाख ७५ हजार छ सय ८४ कित्ता आईपिओ निष्कासनको प्रक्रियामा छन् ।