रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं. ६, ७ र ८ लगायत दर्जनबढी गाउँका नागरिक वारपार गर्न पुल नभएपछि वर्षौंदेखि समस्या भोग्दै आएका छन् । रोल्पाको भूगोलमा भए पनि यस गाउँका नागरिकहरुका लागि सहज र नजिकको बजार भनेको दाङको बिजौरी बजार हो ।
वर्षा शुरु भएपछि न यातायातको सुविधा न सहजै बजारसम्म आउजाउ गर्न सकिन्छ यहाँ । कुनै दुर्घटना वा तत्काल उपचार गर्नुपर्ने बिरामी भएमा उपचार नपाएरै मर्नुपर्ने अवस्था रहेको रुन्टिगढी–८ गाम्रीका स्थानीय बताउँछन् ।
बजार क्षेत्रबाट धेरै टाढा छैनौं तर भूगोलका हिसाबले असाध्यै विकटताको सामना गरिरहेका छौं भन्छन् शिक्षक बाने खड्का । एउटा पुल बनाइदिए पनि आधा भन्दाबढी समस्या समाधान हुने तर्क उनको छ । नेतृत्वको ध्यानै पुग्न नसकेको समाजसेवि रिता खड्का बताउँछिन् ।
रुन्टिगढी गाउँपालिकाको तीनवटा वडा मेल्टाकुरा, कुर्जा, मगरगोरी, खसगोरी, शालिवाङ, गाम्रीलगायत दर्जनबढी गाउँका नागरिकहरु यहाँ पुल बन्ने आशमा वर्षौंदेखि पीडासँग पौंठेजोरी खेलिरहेको शोभा खड्का बताउँछिन् । यता बिजौरी तर्फबाट भने सडकखण्ड स्तरोन्नति भइरहेको छ ।
दाङ तुलसीपुर–१९ को बाँसगढीसम्म पिच भएको छ । कुटिचौरसम्म पिचको काम भइरहेको छ । सुंगुरखोलासम्म बाटो हिंड्नलायक छ । तर जब रोल्पाको सिमाना शुरु हुन्छ अनि विकट जुम्ला पुगेको महसुस हुन थाल्छ भन्छन् अमृता खड्का ।
सुंगुरखोलाबाट करिब दुई किलोमिटरको दुरीमा हिडेपछि रानीबास पुगिन्छ । रानीबास रुन्टिगढी गाउँपालिका वडा नं. ६ र ८ को सिमाना हो । यहीबाट बिजौरी–कुटिचौर हुँदै दहवन जाने सडकको ग्वारखोला तर्नुपर्ने हुन्छ । तर पुल नुहँदा नागरिकहरु निकै सास्ती खेप्न बाध्य छन् । जम्मा २० मिटरको पुल बनाउन पनि नेताको ध्यान पुग्न सकेको छैन ।
चुनावताका यहाँ पुल बनाउँने सबै राजनैतिक दलका नेताहरुले बाचा गर्छन् तर जितेर गएपछि अनुहार सम्म देखाउँदैनन् भन्छन् यहाँका स्थानीय । यो ठाउँमा चुनावका बेला शब्दमा धेरै पुल बने । वास्तविक पुल बन्न अझै कति समय कुर्नुपर्ने कसैलाई थाहा छैन । तुलसीपुरले लगभग आफ्नो सीमा क्षेत्रसम्म सडक स्तरोन्नति गरिसकेको छ ।
यस सडकखण्ड सञ्चालनका लागि रुन्टीगढी–८ र ६ को रानीवास क्षेत्र ग्वारखोलामा पुल निर्माणका लागि प्रदेश सरकारसँग माग गरिएको वर्षौ वितेको गाउँपालिकाका अध्यक्ष जनक पुनले बताए । तुलसीपुर उपमहानगरपालिका र रुन्टीगढी गाउँपालिकाले संयुक्तरुपमा पुल निर्माणका लागि माग गरेको पुनले बताए ।
पुल निर्माण भएपछि यस क्षेत्रको व्यापार, शिक्षा, स्वास्थ्य विकास निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान हुने विश्वासमा जीवन विताइरहेका छन् यहाँका नागरिक ।
