भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

बाढीपछि रसुवागढी जलविद्युत् आंशिक सञ्चालनमा, एक युनिटबाट ३७ मेगावाट उत्पादन

बाढीपछि रसुवागढी जलविद्युत् आंशिक सञ्चालनमा, एक युनिटबाट ३७ मेगावाट उत्पादन

काठमाडौँ, २१ मंसिर । बाढीले ठूलो क्षति पुर्‍याएपछि रोकिएको रसुवागढी जलविद्युत् आयोजना आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण भएको १११ मेगावाट क्षमताको यस आयोजनालाई असार २४ गते ल्येन्दे खोलामा आएको हिमताल विस्फोटनजन्य बाढीले गम्भीर प्रभावित बनाएको थियो।

बाढीले बाँधलगायत सम्पूर्ण हेडवर्क्स क्षेत्र क्षतिग्रस्त बनाएपछि मर्मत कार्य तीव्र गरिँदै आएको थियो। मर्मतपछि अस्थायी रूपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन) गरी विद्युतगृहका तीन युनिटमध्ये एउटा युनिट हिजोदेखि सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। उक्त युनिटले ३७ मेगावाट विद्युत् उत्पादन गर्न थालेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बाँकी दुई युनिट एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। साथै, हेडवर्क्स क्षेत्रका बाँकी मर्मत तथा पुनर्निर्माणका काम आगामी वर्षायम अगाडिनै पूरा गर्ने लक्ष्य छ।

सिलवालले प्राधिकरण, चिलिमे तथा रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको अथक परिश्रमका कारण आयोजनालाई पुनः सञ्चालनयोग्य बनाउन सफल भएको बताए। ‘‘आयोजनाबाट उत्पादन सुरु भएपछि हिउँदयामको विद्युत् माग व्यवस्थापनमा थप सहजता हुनेछ,’’ उनले भने।

बाढीले हेडवर्क्स क्षेत्रमा काठ, झार, ढुङ्गा, बोटबिरुवा बगाएर उपकरणहरू क्षति पुर्‍याएको थियो। मेसिन, गेट, संरचना भत्किएका थिए भने नियन्त्रण भवनमा दुई मिटरभन्दा बढी लेदो जमेकाले ठूलो चुनौती बनेको थियो। टेलरेसमा पानी जमँदा टर्वाइन रहेको तल्लो भाग समेत पूर्ण रूपमा डुबेको थियो।

आयोजनामा कार्यरत २२ जना कर्मचारीलाई सेना हेलिकोप्टरमार्फत उद्दार गरिएको थियो। कर्मचारी आवास क्षेत्र समेत पूर्ण रूपमा बगाएको थियो। साथै, स्याफ्रुबेंसी—आयोजना खण्डको सडक पहिरोले थुप्रै स्थानमा अवरुद्ध बनाएको थियो।

आयोजनाले अघिल्लो वर्ष पुस १६ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। बाढीपछि बन्द रहेको आयोजनाले पूर्ण क्षमतामा सञ्चालन भएपछि वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गर्नेछ। विद्युत् बिक्रीबाट वार्षिक करिब ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.