मुख्य बुँदा
सर्वोच्च अदालतको मूल भवन जलेर प्रयोग नहुने अवस्थामा पुगेको प्रारम्भिक अनुमान।
विशेष अदालतका भवनमा आगजनी हुँदा मिसिल जोगिएको भए पनि कम्प्युटर, कुर्सी, टेबल र झ्यालढोका तोडफोड।
काठमाडौं जिल्ला अदालतका फाँट नम्बर ९, १३ र २० का अभिलेख नष्ट, ६ वटा इजलास ध्वस्त।
काठमाडौं उपत्यकाबाहिर उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुर, उच्च अदालत पाटन (हेटौँडा), उच्च अदालत पोखरा, उच्च अदालत तुलसीपुर (बुटवल र नेपालगन्ज इजलास)मा आगजनी।
जिल्लातर्फ मोरङ, सप्तरी, सिरहा, सिन्धुली, मकवानपुर, चितवन, तनहुँ, कास्की, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, कैलाली अदालतमा क्षति।
रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा चलाइएको सबै अदालत जलेर ध्वस्त।
काठमाडौं जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत, उच्च अदालत पोखरा र उच्च अदालत तुलसीपुरका इजलासमा लामिछानेविरुद्धको पुर्पक्ष आदेश र धरौटी सम्बन्धी मुद्दा जलेको पुष्टि।
काठमाडौं, १ असाेज । भदौ २३–२४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा देशभरका २३ अदालतमा आगजनी भएको छ। सर्वोच्च, विशेष अदालत, सात उच्च अदालत र १४ जिल्ला अदालतमा तोडफोड र आगजनी भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन्।
प्रवक्ता कोइरालाका अनुसार, “सर्वोच्च, विशेष अदालत, सात उच्च अदालत र १४ जिल्ला अदालतमा आगजनी र तोडफोड भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। कुन अदालतमा कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन भइरहेको छ। केही दिनमा सबै जानकारी सार्वजनिक गरिनेछ।”
आगजनीमा अदालतका अभिलेख, मिसिल, इजलास र कम्प्युटर प्रणाली जलेका वा क्षतिग्रस्त भएका छन्। सर्वोच्च अदालतको मूल भवन भूकम्पपछि रेट्रोफिटिङ गरिएको थियो, तर आगोले भवन जीर्ण भएको प्रारम्भिक अनुमान छ। विशेष अदालतका भवनमा पनि धेरै क्षति भएको छ। कम्प्युटर, कुर्सी, टेबल र झ्यालढोका तोडफोड भएको भए पनि मिसिलहरू जोगिएका छन्। तथापि, हराएका मिसिलहरू पत्ता लाग्ने वा सबै भेटिने यकिन छैन।
काठमाडौं जिल्ला अदालतमा ठूला र पुराना मुद्दासहित अभिलेख नष्ट भएको छ। काठमाडौं अदालतको अभिलेख शाखा तथा फाँट नम्बर ९, १३ र २० पूर्ण रूपमा नष्ट भएका छन्। ६ वटा इजलास जलाएर ध्वस्त पारिएका छन्। फाँट नम्बर ९ र १३ मा ठूला मुद्दाका मिसिल थिए भने फाँट नम्बर २० मा सामान्य मुद्दाका मिसिल थिए। अरू फाँटमा पनि आगो लगाइएको थियो, तर केही मिसिल जोगिएका छन्।
काठमाडौं उपत्यकाबाहिर उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुर (राजविराज इजलास), उच्च अदालत पाटन (हेटौँडा), उच्च अदालत पोखरा, उच्च अदालत तुलसीपुर (बुटवल र नेपालगन्ज इजलास)मा पनि आगजनी भएको छ। जिल्लातर्फ मोरङ, सप्तरी, सिरहा, सिन्धुली, मकवानपुर, चितवन, तनहुँ, कास्की, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, कैलाली अदालतमा क्षति भएको छ।
विशेष रूपमा, रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा चलाइएका सबै अदालत जलेर ध्वस्त भएका छन्। काठमाडौं जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत, उच्च अदालत पोखरा र उच्च अदालत तुलसीपुरका इजलासमा लामिछानेविरुद्धको पुर्पक्ष आदेश र धरौटी सम्बन्धी मुद्दा जलेको पुष्टि भएको छ।
लामिछानेलाई नक्खु कारागारबाट रास्वपाका कार्यकर्ताको अगुवाइमा गाडीमा चढाएर घर पुर्याइएको थियो। यसबारे असहमति राख्दै जेनजीले आलोचना गरेका थिए। लामिछानेले जेल प्रशासनले दिएको पत्र सार्वजनिक गरेका थिए, जसमा उनलाई राजनीतिक मुद्दामा थुनामा राखिएको भनिएको थियो।
प्रारम्भिक जानकारी संकलन भइरहेको कारण अदालतमा भएको सम्पूर्ण क्षतिको विस्तृत विवरण केही दिनमा उपलब्ध गराइने सर्वोच्च अदालत प्रवक्ताले बताएका छन्।
