भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

धार्मिक पर्यटकीय गन्तव्य बन्यो नवलपुरको देवचुली डाँडा

धार्मिक पर्यटकीय गन्तव्य बन्यो नवलपुरको देवचुली डाँडा

त्रिवेणी । नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ। प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ।

डाँडामा रहेको तीनकन्या माईको दर्शन गर्न आउनेको संख्या बढेको देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताए। चैते पूर्णिमामा यहाँ पूजाका लागि ठूलो संख्यामा भक्तजन आउने गर्छन्। उक्त दिन तीनकन्या माईको पूजा हुने गर्छ। थारु समुदाय यस दिन शिरथान कुमारवर्ती माईका रूपमा पूजा गर्न देवचुली डाँडा आउँछन्।

सोमबारको चैते पूर्णिमाका दिन पूजाका लागि एक हजार ५५ जना दर्शनार्थी देवचुली डाँडा आएको अध्यक्ष गिरीले जानकारी दिए। थारु समुदायका मानिस देवचुली–६ स्थित कीर्तिपुर पहिलो दिन बास बसेर माईको आराधना गरी दोस्रो दिन इन्द्रसोत पुगेर बास बस्ने गर्छन्। तेस्रो दिन अर्थात् पूर्णिमाको दिन देवचुली डाँडामा पुगेर पूजा गर्ने चलन छ। पूर्णिमाको दिन अन्य समुदायले आफ्नो मनोकांक्षा पूरा होस् भनी पूजा गर्ने चलन छ। समुन्द्री सतहदेखि एक हजार ८०० मिटर अग्लो ठाउँमा रहेको गुफाभित्र माईको पूजा गरिन्छ।

तीन कन्यामाईमा पूजा गर्ने प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देवचुली नगरपालिका–६ का अध्यक्ष एवं देवचुली डाँडा संरक्षण तथा पर्यटकीय निर्माण समितिका सदस्य मिनबहादुर सोतीले बताए। देवचुलीमाई, शिरनाथ कुमारवर्ती माईको नामलेसमेत प्रसिद्ध रहेको तीनकन्यामाईको प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन भव्यताका साथ पूजा गरिन्छ। माइको पूजाआजा गर्नाले जीवन र परलोकमासमेत सुख मिल्ने धार्मिक मान्यता छ। एक हजार ९३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमशृंखला, दक्षिणतर्फ सम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिन्छ।

द्वापरयुगमा पाँच पाण्डव द्रौपदीसहित केही समय गुप्तबास बसेको किंवदन्तीका कारण यस गुफाको धार्मिक महत्त्व छ। गुफाभित्र मानिस, जनावरका आकृति देखिने र सारंगीको धुन निस्कने ढुंगाका कारण यो गुफा विशेष आकर्षणको केन्द्रबिन्दु बनेको छ।

पूर्वपश्चिम राजमार्गको दलदलेदेखि मुन्डे हुँदै देवचुली नगरपालिकाको कीर्तिपुरबाट पाँच किलोमिटरको दूरीमा देवचुली डाँडा पर्छ। कीर्तिपुरबाट पैदल हिँडेर करिब तीन घण्टामा देवचुली पुग्न सकिन्छ। रासस

 


Thali Mobile Pvt.Ltd.