काठमाडाैं, ३ जेठ । रुस र युक्रेनबीच तीन वर्ष लामो युद्धपछि टर्कीमा वार्ता सम्पन्न भएको छ। यो वार्तामा दुवै देशका प्रतिनिधिहरू सहभागी भए पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने उपस्थित थिएनन्। दुई घण्टा चलेको छलफलमा युद्धविरामबारे ठोस निर्णय नभए पनि वार्ता सकारात्मक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हालसम्म पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष बैठकको मिति तय भएको छैन। तर, टर्की वार्तालाई सकारात्मक संकेतका रूपमा हेरिएको छ। युक्रेनी रक्षामन्त्री उमरोभले भने, “दुवै नेताबीचको बैठकले युद्धको दीर्घकालीन समाधान खोज्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।”
रुस र युक्रेनबीच सन् २०२२ देखि सुरु भएको युद्धले विश्व राजनीतिमा ठूलो प्रभाव पारेको छ। यो युद्धमा हजारौँको ज्यान गइसकेको छ भने लाखौँ विस्थापित भएका छन्। युद्धविराम र शान्ति स्थापनाका लागि विभिन्न देशले मध्यस्थता गर्दै आएका छन्। टर्कीले पनि विगतमा यस्ता वार्ताहरूको आयोजना गरेको इतिहास छ।
टर्की वार्ताले रुस र युक्रेनबीचको तनाव कम गर्ने आशा जगाएको छ। पुटिन र जेलेन्स्कीबीचको सम्भावित बैठकले युद्धको अन्त्य र शान्ति प्रक्रियालाई गति दिन सक्ने अपेक्षा गरिएको छ। यद्यपि, बैठकको मिति र स्थानबारे हालसम्म कुनै आधिकारिक जानकारी उपलब्ध छैन।