काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रक्रियामा संलग्न मन्त्रीहरु र कर्मचारीहरुमाथि सांसदहरुले कारबाही माग गरेका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीसँगको छलफलपछि समिति सदस्यहरुले खरिद प्रक्रियामा संलग्न जिम्मेवार व्यक्तिहरु कारबाहीको भागीदार हुनुपर्ने बताए ।
यसका लागि समितिबाट खरिद प्रक्रियामा संलग्न को–को छन् सूची बनाएर सरकारलाई कारबाहीका लागि सिफारिस गर्र्नुपर्ने उनीहरुले माग गरेका हुन ।
एमालेका सांसद कालुराम राई पश्चिमा मुलुकले नेपालका अधिकारीहरुलाई प्रभावमा पारेर आफ्नो पुरानो हुँदै गरेको प्रविधि बेचेको आशंका गरे । आवश्यक कानुनी प्रबन्ध नभई र किन्दै गरेको प्रविधिको उपयोगिताको विस्तृत अध्ययन नगरी किन किनियो भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने माग गरेका हुन ।