देशभर एसईई परीक्षा सुरु
५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी
१,९६६ परीक्षा केन्द्रबाट सञ्चालन
परीक्षा बिहान ८–११ बजेसम्म
मोबाइल र विद्युतीय उपकरण प्रयोगमा रोक
एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी
उत्तरपुस्तिका परीक्षणमा कडाइ र पारदर्शिता
सामूहिक अनुगमन हटाइयो, जिल्लागत समिति गठन
काठमाडौँ, १९ चैत्र । देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
कार्यालयका अनुसार यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। तीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य रहेका छन्। जापानस्थित एभरेस्ट स्कुलसहित १ हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ।
नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी छन्। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ भने परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी तथा सुरक्षाकर्मी गरी करिब ७३ हजार जनशक्ति परिचालन गरिएको छ। परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण प्रयोगमा पूर्ण रोक लगाइएको छ।
यस वर्ष परीक्षा प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउने लक्ष्यका साथ एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा सकिएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण सुरु गरी छिटो सम्पन्न गर्ने योजना छ।
उत्तरपुस्तिका परीक्षणका क्रममा परीक्षक र सम्परीक्षकलाई परीक्षण केन्द्रमै बसेर मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, सिसिटिभी जडान भएका सुरक्षित कक्षमा परीक्षण गर्ने, उत्तरपुस्तिका बाहिर लैजान नपाइने तथा अनियमितता रोक्ने विशेष प्रबन्ध गरिएको छ।
यस वर्ष एसईई परीक्षामा सामूहिक अनुगमन प्रणाली हटाइएको छ भने प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।
परीक्षा तालिकाअनुसार आज अङ्ग्रेजी, भोलि चैत २० गते नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ र २६ गते ऐच्छिक विषय तथा २७ देखि २९ गतेसम्म प्राविधिक धारका विषयहरूको परीक्षा हुनेछ।