काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका अवसरमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ ।
राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुदैछन् । नागरिकको आस्था र भरोसाको केन्द्रका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् ।
सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दैआएको छ ।
सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम राखेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।
नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती पनि हुनेछ । जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ ।
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको बताएका छन् ।