भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

अझै स्तरोन्नति भएन सहिद मार्ग

अझै स्तरोन्नति भएन सहिद मार्ग

बागलुङ । सहिदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्रलाई जोड्ने सहिद मार्ग विस्तार तथा कालोपत्र नहुँदा जनगुनासो बढ्दै गएको छ ।

स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप उक्त सडक चार वर्ष अघि नै कालोपत्रका लागि छनोटमा परेको थियो । स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गरेको सो निर्णय कार्यान्वयनमा भने आउन नसकेको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताए ।

“सहिद मार्ग स्तरोन्नति र कालोपत्रका लागि गाउँपालिकाले पहल नगरेको होइन, तर हाम्रो मात्र प्रयासले सम्भव देखिएन”, उनले भने, “जनस्तरबाट व्यापक दबाब सिर्जना नगरेसम्म सरकारले हाम्रो आवाज सुन्ने अवस्था छैन ।” सरकारको प्राथमिकतामा नपरेका कारण कालोपत्र योजना अलपत्र परेको उनको गुनासो छ । पूर्वाधार आयोजना विकास कार्यालय पोखरा मातहतको आयोजना छनोट समितिले उक्त सडक कालोपत्रका लागि छनोट गरी केन्द्रमा सिफारिस गरेको थियो ।

बीस किलोमिटर दूरीको उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाएर छिट्टै सडक कालोपत्र गरिने खबरले उत्साहित स्थानीयवासी योजना नै अलपत्र पर्दा निराश भएका छन् । जनयुद्धका बेला तत्कालीन माओवादी कार्यकर्ता र जनसमुदाय मिलेर उक्त सडकको मार्ग खोलेका थिए । पछि गाउँपालिकाले त्यसलाई ‘सहिद मार्ग’को नाम दिएको थियो । मार्ग खुलेको वर्षौँ बित्दासमेत सडक विस्तार र कालोपत्र हुन नसकेको हो ।

वर्षात्मा गएका पहिरा व्यवस्थापन नहुँदा हिउँदमा पनि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । हिउँदमा जेनतेन चल्ने उक्त सडक वर्षात्का बेला बन्द हुने गरेको छ । ताराखोला गाउँपालिकाको केन्द्र अर्गलको भातखाने डाँडा जोड्ने उक्त सडक राज्यको नजरमा पर्न नसकेको स्थानीयवासीको गुनासो छ । सहिद मार्गमा पर्ने थवारको घुम्ती, मनझाँक्रीको किल्ला, थारखेतसहित कैयन ठाउँको सडक जोखिमपूर्ण रहेको स्थानीयवासी बताउँछन् ।

सडकको सामान्य मर्मतसुधार पनि हुन नसक्दा सडकको यात्रा जोखिमपूर्ण बनेको हो । ताराखोला–१ का अध्यक्ष यमबहादुर श्रीसले कालोपत्र नगरेसम्म सहिद मार्गको समस्या ज्यूँकात्यूँ रहने बताए । उनले नालीसहितको पक्की सडक बनाउनुपर्ने बताए । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गसँग जोडिने उक्त सडक कालोपत्रका लागि झन्डै रू ७० करोडको लागत अनुमान गरिएको छ ।

योजना कार्यान्वयनमा आए सङ्घ सरकारको ७०, प्रदेशको १० र गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहने जनाइएको थियो । पक्की सडकसँग जोडिएमा यात्रुको आउजाउ सहज हुनुका साथै ताराखोलाको स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउन पुग्ने देखिन्छ । कृषि, पशु र वनजन्य उपजका दृष्टिले ताराखोला धनी छ । सडक स्तरोन्नति नहुँदा अहिले ताराखोलादेखि सदरमुकाम आउन घण्टौँ यात्रा गर्नुपर्छ । सडक कालोपत्र भएमा भने लोकमार्ग हुँदै प्रदेश राजधानी पोखराको यात्रा सहज र छरितो हुनेछ । रासस

 

 


Thali Mobile Pvt.Ltd.