भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

मुस्ताङका उच्चलेकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङका उच्चलेकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ, २२ मंसिर । हिमाली जिल्ला मुस्ताङका उच्च लेकहरूमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या एकीन गर्न विस्तृत अध्ययन अनुसन्धान सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको संयुक्त समन्वयमा यो कार्य थालिएको हो।

बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङका अनुसार हिउँ चितुवाको सङ्ख्या, उनीहरूको आहारा प्रजातिको अवस्था, मानव-हिउँ चितुवाबिचको द्वन्द्व तथा जलवायु परिवर्तनको प्रभावबारे जानकारी लिन क्यामेरा ट्यापिङ सुरु गरिएको हो।

गत हप्तादेखि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका झोङ, पुडाक, छेङ्गुर, थोरङ्फेदी लगायतका उच्च लेकहरूमा १५ वटा क्यामेरा जडान गरिएको छ। आजदेखि घरपझोङ गाउँपालिका अन्तर्गत स्याङ, मार्फा र चिमाङ गाउँको उच्च लेकमा थप क्यामेरा जडान गरिने कार्यक्रम छ।

बायोकोस र एक्यापका प्राविधिक टोलीले हिउँ चितुवाको सम्भावित बासस्थान क्षेत्रलाई केन्द्रित गरी क्यामेराहरू जडान गरेका हुन्। यी क्यामेराहरू हिउँद यामभरि (दुई महिनासम्म)  लेकमा राखिनेछन्।

बायोलोजिस्ट गुरुङले दुई महिनापछि क्यामेराहरू झिकेर डाटा विश्लेषण गरिने र सङ्कलित सबै डाटा एक्यापलाई हस्तान्तरण गरिने जानकारी दिए। बायोकोस नेपालले अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न भागमा नाउर (ब्लु सिप) अध्ययनको साथसाथै हिउँ चितुवाको पनि अध्ययन गर्दै आएको छ। मुस्ताङमा यस प्रकारको कार्यक्रम पहिलो पटक भएको गुरुङले बताए।

पछिल्लो समय मुस्ताङमा हिउँ चितुवा र मानवबिचको द्वन्द्व बढेको पाइएको छ। जलवायु परिवर्तनका कारण उच्च लेकमा चरनक्षेत्रको घाँस पलाउन छोडेको र पानीका स्रोत सुक्दै जाँदा नाउर लगायतका आहारा जनावरहरू खोला र बस्तीतिर झर्छन्।

हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक पुग्दा पशुपालकहरूको गोठमा क्षति पुर्‍याउने घटनाहरू दोहोरिएका छन्। यसले हिउँ चितुवाको संरक्षण र मानवसँगको सहअस्तित्व कायम गर्न चुनौती बढाएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.