काठमाडौं, २० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फकल्यान्ड टापु, जसलाई अर्जेन्टिनामा ‘माल्भिनास’ भनिन्छ, सम्बन्धमा अमेरिकाको लामो समयदेखिको नीतिमा पुनर्विचार हुन सक्ने संकेत दिएपछि अर्जेन्टिना र बेलायतबीच दशकौँ पुरानो विवाद फेरि चर्किएको छ ।
ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्याउँदै त्यहाँ आसपास तेल उत्खनन गरिरहेका कम्पनीमाथि कडा प्रतिबन्ध लगाउने योजना अघि सारेका छन् । मिलेईले बिहीबार राति दिएको भाषणमा फकल्यान्ड टापु ऐतिहासिक तथा कानुनी रूपमा अर्जेन्टिनाकै भएको दाबी गरे । पछिल्लो समय आफ्नो दाबीको पक्षमा अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तनका संकेत देखिएको उनको भनाइ छ ।
मिलेईले फकल्यान्डको तटबाहिर सञ्चालन भइरहेको तेल परियोजनालाई अर्जेन्टिनाका लागि ‘ठोस र तत्काल खतरा’का रूपमा चित्रण गरेका छन् । उक्त परियोजनामा इजरायली कम्पनी नेभिटास पेट्रोलियम र बेलायती कम्पनी रकहपर एक्सप्लोरेसन संलग्न छन् । मिलेईका अनुसार ती कम्पनी तेल उत्खननको चरणमा अघि बढिरहेका छन्, तर अर्जेन्टिनाबाट आवश्यक अनुमति लिइएको छैन ।
उनले हाइड्रोकार्बन उत्खननमा संलग्न कम्पनीलाई सेवा उपलब्ध गराउने व्यवसायमाथि समेत कडा प्रतिबन्ध लगाउने गरी कानुन संशोधन गर्ने योजना अघि सारेका छन् । मिलेईले अर्जेन्टिनाले तत्काल कदम नचाले केही महिनामै ती कम्पनीले समुद्रमुनि रहेको तेल भण्डार निकाल्ने भौतिक क्षमता हासिल गर्ने चेतावनी दिएका छन् ।
तर तेल परियोजनामा संलग्न कम्पनीहरूले आफ्नो गतिविधिमा पछिल्लो राजनीतिक घटनाक्रमले असर नपार्ने बताएका छन् । उनीहरूले फकल्यान्ड प्रशासनबाट जारी भएका वैध अनुमतिपत्र आफूहरूसँग रहेको र बेलायतको निरन्तर समर्थन प्राप्त भएको दाबी गरेका छन् ।
अर्जेन्टिनाको नयाँ कदमप्रति बेलायतले पनि तत्काल प्रतिक्रिया जनाएको छ । बेलायती विदेशमन्त्री एड मिलिब्यान्डले फकल्यान्डप्रतिको बेलायतको प्रतिबद्धता अडिग रहेको बताएका छन् । उनले फकल्यान्डका बासिन्दाको आत्मनिर्णयको अधिकार अन्तर्राष्ट्रिय कानुनमा आधारित रहेको उल्लेख गर्दै टापुहरू बेलायती नै रहेको र त्यस्तै रहने बताएका छन् ।
फकल्यान्ड बेलायतका १४ वटा ओभरसिज टेरिटोरीमध्ये एक हो । टापुले आफ्नै कर प्रणाली सञ्चालन गरे पनि रक्षा र विदेश नीतिका लागि बेलायतमा निर्भर रहन्छ ।
ट्रम्पको अभिव्यक्तिले बढायो अर्जेन्टिनाको उत्साह
ट्रम्पले बिहीबार बेलायती सञ्चारमाध्यम जीबी न्युजसँगको अन्तर्वार्तामा भविष्यमा फकल्यान्डलाई लिएर बेलायत र अर्जेन्टिनाबीच पुनः युद्ध भए अमेरिका बेलायतको पक्षमा सैन्य रूपमा उत्रिने हो कि होइन भन्ने प्रश्नमा स्पष्ट जवाफ दिएनन् ।
उनले सन् १९८२ को युद्धको प्रसंग उल्लेख गर्दै बेलायतले त्यतिबेला फकल्यान्डमाथि नियन्त्रण पुनःस्थापित गर्न गरेको सैन्य कारबाहीको प्रशंसा गरे । तर फकल्यान्ड निकै टाढा रहेको उल्लेख गर्दै सम्भावित अर्को द्वन्द्वमा अमेरिकी सहयोगबारे स्पष्ट प्रतिबद्धता जनाएनन् ।
ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई मिलेईले अर्जेन्टिनाप्रति अमेरिकी नीतिमा सम्भावित परिवर्तनको संकेतका रूपमा लिएका छन् । अमेरिकाले अर्जेन्टिनालाई विश्वसनीय साझेदारका रूपमा हेरेकाले फकल्यान्डसम्बन्धी आफ्नो पुरानो नीतिमा पुनर्विचार गर्न सक्ने उनको दाबी छ ।
फकल्यान्डका बासिन्दाले सन् २०१३ मा भएको जनमतसंग्रहमा बेलायती शासनमै रहने पक्षमा भारी बहुमत दिएका थिए । मतदान गर्नेहरूमध्ये ९९ प्रतिशतभन्दा बढीले बेलायतसँगै रहने पक्षमा मत दिएका थिए ।
तर मिलेईले फकल्यान्डका बासिन्दालाई सार्वभौमसत्तासम्बन्धी आत्मनिर्णयको वैध अधिकार नरहेको दाबी गरेका छन् । टापुमा भएको जनमतसंग्रहलाई आधार बनाएर बेलायती सार्वभौमसत्ताको पक्षमा गरिने तर्क स्वीकार्य नहुने उनको भनाइ छ ।
फकल्यान्ड विवाद अर्जेन्टिनाको राजनीतिमा अझै संवेदनशील विषयका रूपमा रहेको छ । सन् १९८२ मा तत्कालीन अर्जेन्टिनी सैन्य सरकारले टापुमा सेना पठाएपछि बेलायतले सैन्य कारबाही गर्दै नियन्त्रण पुनःस्थापित गरेको थियो । उक्त युद्धमा ६४५ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको मृत्यु भएको थियो ।
चार दशकभन्दा बढी समय बितिसक्दा पनि युद्धको स्मृति अर्जेन्टिनी समाजमा गहिरो छ । फकल्यान्डलाई लिएर अर्जेन्टिनाको दाबी र बेलायतको नियन्त्रणबीचको विवाद अझै समाधान हुन सकेको छैन ।
ट्रम्पको अस्पष्ट अभिव्यक्ति, फकल्यान्ड आसपास भइरहेको तेल उत्खनन र मिलेई सरकारको प्रतिबन्ध योजनाका कारण दक्षिण एट्लान्टिकको पुरानो सार्वभौमसत्ता विवाद फेरि अन्तर्राष्ट्रिय कूटनीतिक बहसको केन्द्रमा आएको छ ।
