भर्खरै : Sorry, your browser does not support inline SVG.

परेवाभिरमा १२ घण्टा सडक बन्द, क्षतिग्रस्त सडक मर्मत हुँदै

परेवाभिरमा १२ घण्टा सडक बन्द, क्षतिग्रस्त सडक मर्मत हुँदै

काठमाडौं, २० भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारको बीचमा पर्ने परेवाभिर सडकखण्डमा मर्मतका लागि आज १२ घण्टा यातायात पूर्ण रूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । त्रिशूली नदीमा आएको बाढीका कारण परेवाभिर सडकखण्डमा क्षति पुगेपछि केही समयदेखि उक्त स्थानमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।

क्षतिग्रस्त सडकको आवश्यक मर्मत तथा सुधारका लागि यातायात नै रोक्नुपर्ने अवस्था आएपछि प्रशासनले १२ घण्टाका लागि आवागमन बन्द गरेको जनाएको छ । बाढीका कारण धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा भने सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ । कृष्णभीरमा सडक खुलाउने गरी मर्मत तथा निर्माणको काम भइरहेको प्रशासनले जनाएको छ ।

त्यस्तै बेनिघाट–१० को जवाङखोला र थाक्रे–२ को कमेरेभिर सडकखण्डमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् ।बाढी तथा पहिरोका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक मर्मत तथा आवागमन सहज बनाउने काम भइरहेको छ ।

यात्रुलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा सम्बन्धित निकायले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.