भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर औद्योगिक क्षेत्रका केही उद्योगहरुले वर्षौंदेखि कर नतिरेको कारण त्यस्ता उद्योगहरुमा तालाबन्दी गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । शुक्रबार समाज सुधार माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा नगर प्रमुख प्रजापतिले उक्त कुरा बताउनुभएको हो ।
उहाँले जनताको स्वास्थ्यमा असर पर्ने गरी प्रदूषण गर्ने उद्योगहरु सञ्चालन गरी नाफा खाने तर नगरपालिकालाई कर नतिर्ने उद्योगहरु उपत्यका बाहिर स्थानान्तरणको विकल्प नभएको बताउनुभयो । सोही अवसरमा उहाँले स्थानीय जनताको मागबमोजिम ती उद्योगहरु स्थानान्तरणको लागि नेपाल सरकारसमक्ष पहल गरिरहेको पनि जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि केही उद्योगहरुले कर नतिरेपछि ती उद्योगहरुमा तालाबन्दी गरेको बताउँदै उहाँले जनताले ती उद्योगहरु हटाउन पटक–पटक माग गरेको सन्दर्भमा भक्तपुर नपाले उक्त कदम चाल्नुपरेको बताउनुभयो । नेपालमा दुईथरिको शिक्षा नीतिको कारण सरकारी र निजी क्षेत्रका विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा भिन्नता भए पनि भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक र निजी विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा थप वृद्धिका लागि प्रतिस्पर्धाको नीति नगरपालिकाले लिएको बताउनुभयो ।
सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तरमा उत्कृष्टता प्रदान गर्न नसकेसम्म निजी विद्यालयहरूको औचित्य कायम रहीरहने बताउँदै उहाँले प्रतिस्पर्धामा टिक्न नसक्ने विद्यार्थीहरुको अस्तित्व क्रमशः लोप भएर जानेबारे विद्यार्थीहरु सचेत पार्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई पढाईसँगसँगै असल व्यवहार, स्वयम्सेवी भावना, देश र जनताको सेवा गर्ने विचार र इमानदारीपूर्वक काम गर्ने तथा श्रमलाई माया गर्नुपर्ने शिक्षा पनि शिक्षकहरुले दिनुपर्ने बताउनुभयो ।
शिक्षकहरुले विद्यार्थीहरलाई पढाृउने मात्रै नभई भविष्यको समाज निर्माण गरिरहेको भन्ने सोचले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । भक्तपुर नपा वडा नं। ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले आजभन्दा चार दशक अगाडिसम्म भक्तपुर शैक्षिक क्षेत्रमा निकै पछाडि रहेको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रहरुमा भक्तपुरले आमूल परिवर्तन गरेको बताउनुभयो । जनताको साथ र सहयोगमा यहाँको विकास निर्माण कार्य अगाडि बढेको बताउँदै उहाँले विद्यार्थीहरुलाई नैतिकवान र देशभक्त नागरिक बन्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ प्रजापतिले विद्यालयको वार्षिक प्रगति प्रस्तुत गर्दै विद्यालयमा न्युन आय भएका अभिभावकहरुका छोराछोरी अध्ययन गरिरहेको बताउँदै विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा जोड दिँदै आएको बताउनुभयो । समाज सुधार मावि व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापति, विद्यालयका पूर्व प्रअ लक्ष्मीनारायण दुवाल र संयुक्त परीक्षा समितिका गणेशराम थुसाले समेत बोल्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापति र अन्य अतिथिहरुले शिक्षक सम्मान, विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सेवा निवृत्त शिक्षक सम्मान र एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । सोही अवसरमा प्रमुख प्रजापतिले विद्यालयले प्रकाशन गरेको स्मारिका विमोचन गर्नुभयो ।
