तनहुँ । तनहँुबाट एक शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । पन्यु तताएर विद्यार्थीको गालामा डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको हो । कक्षा ४ मा अध्ययनरत १० वर्षीय प्रमिश परियारसहित चार जना विद्यार्थीलाई शिक्षिका तातो पन्युले गालामा डामेको प्रहरीले जनाएको छ ।
भिमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका सुषमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अनुसन्धानका क्रममा शिक्षिकाले आवेशमा आएर आफूले गल्ती गरेको स्वीकारेको प्रहरीको भनाइ छ। यस घटनाको जिल्लास्थित विद्यार्थी सङ्घ तथा सङ्गठनले विरोध गरेका छन्।
तातो पन्युले डामिएका विद्यार्थीको गालामा पन्युको छाप बसेको छ। कक्षाकोठामा विद्यार्थीले होहल्ला गरेका र आफूलाई काली भनेको आक्रोशमा शिक्षिका श्रेष्ठले पन्युले डामेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस घटनाले सम्पूर्ण शिक्षा क्षेत्र, अभिभावक तथा समाजलाई गहिरो चिन्तामा पुर्याएको जनाइएको छ। विद्यार्थीलाई सुरक्षित वातावरणमा सिकाइ प्रक्रिया अगाडि बढाइनु पर्छ तर बालमैत्री वातावरण कायम गर्नुपर्ने जिम्मेवार शिक्षकबाटै अमानवीय व्यवहार भएको खबर आउनु दुःखद तथा निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विद्यार्थीलाई शिक्षकद्वारा अनुशासन कायम गर्ने नाममा पन्यु तताएर गालामा डामेर यातना दिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन विभिन्न विद्यार्थी संगठनले बताएका छन् ।
