काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर, उपमेयरसहित प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार गोदावरी नगरपालिका मेयर, उपमेयर सहित पाँच वर्षमा जिम्मेवारी पाएका सबै सबै प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर गरेको हो ।
१ अर्ब ४ करोड भन्दा बढी घोटाला भएको भन्दै पाँच थान मुद्दा दायर विशेष अदालतमा दायर गरेको हो । स्थानीय तहमा भएको भ्रष्टाचार मध्येको ठुलो बिगो र एउटै नगरपालिकाकामा अख्तियारले फेला पारेको हो । अघिल्लो पटक निर्वाचित भएका नगर प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी दोस्रो कार्यकालमा निर्वाचित भएपछि यो घोटालाबारे अख्तियार अनुसन्धान थालेको थियो । उनीहरू दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
दोस्रो कार्यकालमा पनि निर्वाचित भएका उनीहरू सोमबारबाटै निलम्बनमा परेका छन् । यी मुद्दामा अलग अलग राजश्वको हिसाब गरिएको र नोक्सान निकालिएको छ। अख्तियारले करिब २ वर्ष लगाएर यो विवादमा अनुसन्धान गरेको थियो । निर्धारण गर्दा कानुनले तोकेभन्दा कम दरमा उठाउँदा राज्यले ठुलो राजस्व गुमाएको पाइएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।
५ वर्षमा १ अर्ब ४ करोडभन्दा बढी रकम स्थानीय जनप्रतिनिधि, कर्मचारी र क्रसर उद्योगको मिलेमतोमा राजश्व घोटाला भएको र राज्य कोषमा दाखिल हुनुपर्ने रकम नोक्सान भएको दाबी गरेको छ। भ्रष्टाचार मुद्दा चलेपछि पदबाट निलम्बित प्रमुख र उपप्रमुख दुवै नभएपछि नगरपालिका कसरी चल्छ भन्ने प्रश्न उब्जिएको छ ।
अख्तियारले उनीहरूसँग राज्यलाई नोक्सान भएको रकम बराबरको बिगो, बिगोको दोब्बर जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार हदसम्मको कैद जरिवाना हुनुपर्ने माग गरेको छ। ती सबै भ्रष्टाचार अभियुक्त भएका छन् र स्वतः निलम्बनमा परेका छन्। उनीहरुले आफू जिम्मेवार पदमा रहँदा राजश्व दोहन रोक्न भूमिका नखेलेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।
भ्रष्टाचार निवारण ऐनको दफा ३३ बमोजिम मेयर, उपमेयर, प्रशासकीय अधिकृत र मुद्दा दायर भएका सबै कर्मचारी निलम्बनमा परेका छन् । योसगै नगरपालिका प्रमुख, उपप्रमुख ,लेखालगायतका केही शाखा हालका लागि रिक्त भएको छ। ५ वर्षमा उक्त नगरपालिकामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका थिए ।
उक्त भ्रष्टाचार मुद्दामा सबै प्रतिवादी कायम भएका छन् । उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, कृष्णप्रसाद जैसी, वीरेन्द्रदेव भारती र प्रवीन कोइरालाले जिम्मेवारी विभिन्न मितिमा सम्हालेका थिए ।
