भक्तपुर फूल खेतीमा आत्मनिर्भर बन्दै गएको छ । तिहारको माहोल सुरु भएसंगै बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल टिप्न एवं माला बनाउँन स्थानीय किसानलाई भ्याइ नभ्याइ छ । आय आर्जनको राम्रो स्रोत बन्दैगएपछि यहाँका किसान व्यवसायिकरुपमै खेती गर्न उत्साहित भएका छन् । सबभन्दा बढी फूलखेती हुने ठाउँमा पर्छ सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु र चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली ।
यहाँका घर आँगन, खेतबारीमा यतिबेला सौन्दर्यताले धपक्कै ढाकेको छ । तिहारले आँगन छोइसकेकाले पनि होला किसानको अनुहारमा खुसीको चमक झल्किन्छ भने आम्दानी पनि राम्रै हुने गरेको छ । जिल्लाका धेरै क्षेत्रमा फूल खेती हुदै आएपनि सबैभन्दा बढी फूल खेती हुने ठाउँमा पर्छ गुण्डु । व्यावसायिक रुपमा दुई आना देखि पाँच रोपनीसम्मको क्षेत्रफलमा यहाँ किसानले फूल खेती गर्दै आएका छन् ।
एउटा वडामा मात्रै सातसय रोपनीमा फुलखेती हुदै आएको पालिकाको तथ्याङ्क छ । साउनदेखि टिप्न सुरु भएको मखमली र सयपत्री अहिलेसम्म पनि टिप्नकै चटारो छ । राम्रो फूल खेती हुने भएपछि स्थानीय पालिकाले पनि किसानलाई अनुदान र बेर्नामा सहयोग गर्दै आएको छ । प्लाटिक जन्यफूललाई निष्तेज पार्न पालिकाले सहयोग गर्दै आएको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटा बताउँछन् । भक्तपुरमा व्यावसायिक रुपमा मखमलीको फूलखेती हुने ठाउँ हो चाँगुनारायण नगरपालिका–९ ताथलीको वनमाला टोल ।
अहिले पनि बनमाला समुदाय फूलटिप्न र माला बनाउँनमै व्यस्त छन् । गत वर्ष ३५ लाखको माला विक्रि गरेको बताउँने यहाँका किसानले यसपाली करोडौंको व्यापार हुने अनुमान गरेका छन् । पछिल्लो १५ वर्षयता व्यावसायिक रुपमै फूल खेती गर्दै आएका किसानले माला बिक्रीका लागि बजारको समस्या नभएको बताउँदै आएका छन् । नेपाली बजार बाहेक अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायत विभिन्न देशमासमेत फूल विक्रि हने भएपछि किसानको घर आगनमै फूल किन्न व्यापारीहरु धाउँने गरेका छन् ।
तिहार नेपाली समाजको ठूला पर्व
तिहारको सांस्कृतिक, पारिवारिक एवं सामाजिक महत्व छ । वर्षको एक पटक दिदी बहिनीले दाजुभाइहरूसँग भेटघाट गरी भाइटीका लगाइदिने चलन भएकोले सामाजिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ भने किंवदन्तीअनुसार मृत्युदेव यमराज पाँच दिनसम्म आफ्नो सम्पूर्ण कार्यभार चित्रगुप्तलाई सुम्पेर आफ्नी दिदी यमुनाको घरमा गएको र दिदी यमुनाले आफ्नो भाइ आएको खुसीयालीमा दीपावली गरी उनको पूजा गरेकी थिइन् भन्ने शास्त्रीय मान्यता रहेको छ ।
यसरी हेर्दा तिहारलाई सांस्कृतिक एवं सामाजिक पर्वको रूपमा मान्ने चलन छ । हरेक वर्ष कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुक्ल पक्षको द्वितीय तिथिका बीचका पाँच दिनसम्म मनाइने चाड नै तिहार हो। वैष्णवहरूले रामराज्याभिषेक, बौद्धहरूले बोध प्राप्ति र नेवारहरूले म्ह पूजाका रूपमा मनाउने यो पर्वको अत्यन्त लोक महिमा छ। तिहारलाई फूलमाला र बत्तीको पर्व पनि भन्ने गरिन्छ।
हाम्रो शास्त्रीय मान्यताअनुसार उज्यालोलाई समृद्धिको प्रतीकको रूपमा लिइन्छ। हाम्रा धार्मिक आस्थासँग जोडिएको दियो बालेर शुभारम्भ गरिने शास्त्रीय परम्परा रहेकोले यस पर्वलाई उज्यालोको पर्व अर्थात् विकास र समृद्धिको पर्व पनि भन्ने गरिन्छ। तिहारमा मृत्युका देवता यमराजको समेत पूजा गरिने हुनाले तिहारका पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ। विशेषतः तिहारमा सम्पत्तिकी देवी महालक्ष्मीको भव्यताका साथ पूजाअर्चना गरिन्छ।
लक्ष्मीलाई धनकी माता, शोभा, सौन्दर्य, सुख, समृद्धि, सौभाग्य, आरोग्य तथा सिर्जनाकी देवीको रूपमा मान्ने चलन छ। यसका साथै हिन्दु धर्मालम्बीहरूले गाईलाई लक्ष्मीको अवतारको रूपमा मान्ने चलन भएकोले लक्ष्मीको रूपमा गाईको विशेष पूजा गर्ने चलन छ। लक्ष्मीपूजाको दिन आ–आफ्ना घर आँगन सफा सुग्घर गरी घरको ढोकादेखि पूजाकोठासम्मको बाटोमा रातोमाटोले लिपेर लक्ष्मीको आह्वान गर्ने चलन रहेको छ।
लक्ष्मीको स्वागतार्थ घरका ढोकामा सयपत्री फूलका मालाहरूले सिँगार्ने प्रचलन छ। यस दिन धनको सिंहासन मूल ढुकुटीको विशेष रूपमा पूजाअर्चना गरिन्छ। त्यसो त तिहारका पाँचै दिन आफैँमा अत्यन्त महत्वपूर्ण छन्। पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौँ दिन भाइ तिहार मनाउने चलन छ।
क्रमशः यमराजको दूतको रूपमा काग, द्वारपाल कुकुर, वैतर्णी तार्ने गाई, शिवको वाहन तथा धर्ती सेवक गोरुको पूजा गरेपछि पाँचौँ दिनमा भाइ पूजा हुन्छ। तिहारको अन्तिम दिन वा कात्र्तिक शुक्ल द्वितीयाका दिन शास्त्रीय विधानअनुसार दिदी बहिनीहरूले दाजुभाइको दीर्घायु र आरोग्यको कामना गर्दै सप्तरङ्गी टीका र मखमली, सयपत्री, दुबो आदिको माला लगाई मिष्ठान्न भोजन गराउने चलन छ।
दिदीबहिनीको हातबाट टीका ग्रहण गरिसकेपछि दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई आफूसक्दो दक्षिणा दिने प्रचलन छ। यसरी हेर्दा घर परिवारका दाजुभाइ, दिदीबहिनीका बीचमा सौहार्दपूर्ण व्यवहार, आपसी सद्भावका साथै जमघट हुने अवसर जुटाइदिनु तिहारको सांस्कृतिक सौन्दर्यभित्रको सामाजिक पक्ष हो। हाम्रा चाडबाड आधुनिक समाजको विकाससँगै खर्चिला, भड्किला र यिनीहरूको धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य र मान्यतालाई आधुनिकताको नवनिर्मित व्यवहारले सांस्कृतिक महत्व छायामा पर्दै गएको अग्रजहरूको बुझाइ छ।
तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैँमा शास्त्रीय छ। सुसंस्कृत छ। यस सन्दर्भमा तिहारको महत्व र सौन्दर्यलाई घरका अभिभावक तथा समाजका अग्रज पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्छ। यसो भएमा हाम्रा चाडपर्वहरूका शास्त्रीय मूल्यमान्यता तथा सामाजिक महत्व नयाँ पुस्तामा हस्तान्तरण हुँदै जान्छन्। नयाँ पुस्ताले समाजका स्थापित मूल्य मान्यतालाई शिरोधार्य गर्दै जान सक्छन्। यो आजको आवश्यकता हो।

