भर्खरै : Sorry, your browser does not support inline SVG.

बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी

बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी

मुख्यबुँदा

बाजुरामा पाँच रोपनीमा ड्रागन फ्रुटका १ हजार ४०० बिरुवा ।

तीन वर्षदेखि व्यावसायिक ड्रागन फ्रुटखेती ।

गत वर्ष ६ क्विन्टल बिक्री, यस वर्ष १५ क्विन्टल बिक्री भइसकेको ।

वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी ।

मार्तडीदेखि साँफेबगरसम्म बजार विस्तार ।

उचित व्यवस्थापन गरे एउटा बोटले २५ वर्षसम्म उत्पादन दिन सक्ने ।

बाजुरामा ड्रागन फ्रुटखेतीको सम्भावना प्रशस्त रहेको कृषि ज्ञान केन्द्रको भनाइ ।

बाजुरा, २१ असाेज । बाजुरामा परम्परागत खेतीबाट पर्याप्त आम्दानी गर्न कठिन भइरहेका बेला बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले ड्रागन फ्रुटखेतीबाट नयाँ सम्भावना देखाउनुभएको छ ।

तीन वर्षअघि परीक्षणका रूपमा ड्रागन फ्रुटखेती सुरु गर्नुभएका जैसीले अहिले पाँच रोपनी जमिनमा एक हजार ४०० बिरुवा लगाउनुभएको छ । उत्पादन राम्रो हुन थालेपछि उहाँले ड्रागन फ्रुटखेतीलाई आफ्नो आम्दानीको प्रमुख माध्यम बनाउनुभएको हो ।

विसं २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय सञ्चालन गर्नुभएका जैसी त्यसपछि गाउँ फर्किनुभएको थियो । गाउँ फर्किएपछि ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरी कुखुरापालन र तरकारीखेती सुरु गर्नुभयो ।

नयाँ र फरक किसिमको व्यावसायिक खेती गर्ने सोच बनाएपछि कृषि ज्ञान केन्द्रका तत्कालीन प्रमुख मीनप्रसाद जैसीको सुझावमा उहाँले अनुदान लिएर ड्रागन फ्रुटखेती सुरु गर्नुभएको हो ।

ड्रागन फ्रुटका बिरुवाले करिब दुई वर्षमै फल दिन थालेपछि उहाँको उत्साह थपिएको छ । गत वर्ष करिब छ क्विन्टल ड्रागन फ्रुट बिक्री गर्नुभएका जैसीले यस वर्ष हालसम्म १५ क्विन्टल बिक्री गरिसक्नुभएको छ । अझै केही फल पाक्ने क्रममा रहेको उहाँले बताउनुभएको छ ।

जेठदेखि फल्न सुरु हुने ड्रागन फ्रुटको मुख्य सिजन असोजसम्म रहने गर्दछ । उत्पादन बिक्रीबाट जैसीले वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । उत्पादित ड्रागन फ्रुट बिक्रीका लागि बजारको समस्या नरहेको उहाँको भनाइ छ । उहाँले मार्तडी बजारसँगै अछामको साँफेबगरसम्म पुर्‍याएर फल बिक्री गर्दै आउनुभएको छ ।

जैसीका अनुसार राम्रो मलजल र उचित व्यवस्थापन गर्न सके एउटा ड्रागन फ्रुटको बोटले २५ वर्षसम्म उत्पादन दिन सक्छ । अन्य बालीको तुलनामा धेरै सिँचाइ आवश्यक नपर्ने भएकाले बाजुराजस्तो क्षेत्रमा समेत यसको व्यावसायिक सम्भावना रहेको उहाँको अनुभव छ ।

ड्रागन फ्रुटखेतीमा सुरुवाती लगानी र मेहनत आवश्यक भए पनि गाईवस्तुको मल प्रयोग गर्न सकिने तथा समय–समयमा काँटछाँट गरे पुग्ने जैसी बताउनुहुन्छ ।

जैसीको खेती अहिले बाजुरामा व्यावसायिक ड्रागन फ्रुटखेतीको उदाहरण बनेको छ । जिल्लामा ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटखेती गर्ने उहाँ पहिलो कृषक हुनुहुन्छ । अन्य केही स्थानमा पनि खेती सुरु भए पनि अझै व्यावसायिक रूपमा विस्तार हुन सकेको छैन । बाजुरामा ठूलो मात्रामा कृषियोग्य जमिन भए पनि परम्परागत बालीबाट पर्याप्त आम्दानी गर्न चुनौती छ ।

जिल्लाको करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा अझै सिँचाइ सुविधा पुग्न सकेको छैन । वर्षभरि उत्पादन गरेको अन्नले समेत धेरै परिवारलाई छ महिनासम्म खान नपुग्ने अवस्था रहेको बताइन्छ । कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा जैसीसहित जिल्लाका चार किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ड्रागन फ्रुटखेती सुरु गर्न सहयोग गरिएको थियो ।

केन्द्रका बागवानी विकास अधिकृत सृष्टि ढुङ्गानाका अनुसार समुद्री सतहबाट १०० देखि एक हजार ५०० मिटर उचाइसम्म ड्रागन फ्रुटखेती गर्न सकिन्छ । नयाँ बाली भएकाले जिल्लामा हाल थोरै किसान मात्रै व्यावसायिक रूपमा यसमा लागेका छन् । तर उचित मेहनत र व्यवस्थापन गर्न सके बाजुरामा ड्रागन फ्रुटखेतीबाट राम्रो आम्दानी गर्न सकिने कृषि ज्ञान केन्द्रको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.