काठमाडौँ, २१ असाेज । कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मतको काम तीव्र पारिएको छ ।
गत असोज ११ गते आएको बाढीले पुलको पहुँचमार्गमा क्षति पुर्याएपछि बागलुङ र पर्वतबीचको नियमित आवतजावत प्रभावित भएको थियो । सडक डिभिजन कार्यालय पोखराले चाडपर्वअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित २४सै घण्टा मर्मतको काम गरिरहेको जनाएको छ ।
एक सय १४ मिटर लामो मालढुङ्गा पुलको पहुँचमार्गतर्फ करिब ३० मिटर सडक बाढीले क्षति पुर्याएको छ । क्षतिपछि करिब १० दिनसम्म दुई जिल्लाबीचको मुख्य सडक सम्पर्क प्रभावित बनेको थियो । अहिले मालढुङ्गा–बेनी हुँदै बागलुङ पुग्ने तथा पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुङ जाने वैकल्पिक मार्गबाट यातायात सञ्चालन भइरहेको छ ।
सडक डिभिजन कार्यालयका अनुसार मर्मत कार्य तीव्र गतिमा भइरहेकाले अबको केही दिनमै पुल सञ्चालनमा ल्याउने तयारी छ ।मालढुङ्गा पुल बागलुङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण संरचना हो । यही क्षेत्रबाट कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसमेत जोडिने भएकाले पुल सञ्चालन नहुँदा बागलुङसहित रुकुम र रोल्पातर्फको यातायातमा समेत असर परेको छ ।
चाडपर्व नजिकिँदै गर्दा बागलुङमा खाद्यान्न, ग्यासलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत समस्या देखिन थालेपछि पुल तत्काल सञ्चालनमा ल्याउन दबाब बढेको छ ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरि सुवेदीले चाडपर्वलाई ध्यानमा राख्दै आवश्यक परे २४सै घण्टा काम गरेर भए पनि पुल छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताउनुभएको छ ।
