भर्खरै : Sorry, your browser does not support inline SVG.

फ्रान्समा विद्यार्थी आन्दोलन उग्र बन्दै, हजारौँ पक्राउपछि अभिभावक र मजदुर पनि सडकमा

फ्रान्समा विद्यार्थी आन्दोलन उग्र बन्दै, हजारौँ पक्राउपछि अभिभावक र मजदुर पनि सडकमा

एजेन्सी । फ्रान्समा उच्च माध्यमिक विद्यालयका विद्यार्थीले सुरु गरेको आन्दोलन थप चर्किएको छ । विद्यालयमा आवश्यक स्रोतसाधन बढाउनुपर्ने माग गर्दै सुरु भएको प्रदर्शनमा विद्यार्थीका अभिभावक, शिक्षक र मजदुर युनियनसमेत जोडिएपछि देशभर आन्दोलन फैलिएको हो ।

हप्तौँदेखि जारी विद्यार्थी आन्दोलनको समर्थनमा वयस्क प्रदर्शनकारीले समेत र्‍याली निकालेका छन् । विद्यार्थीले विभिन्न उच्च माध्यमिक विद्यालयमा पुनः अवरोध सिर्जना गर्न थालेका छन् ।

पेरिसको २०औँ जिल्लामा रहेको ‘हेलेन बुचर’ उच्च माध्यमिक विद्यालयको प्रवेशद्वारमा प्रदर्शनकारीले फोहोर राख्ने भाँडा र साइकल तेर्स्याएर अस्थायी अवरोध गरेका थिए । प्रदर्शनका क्रममा विद्यालयमा तोडफोडका घटना बढ्नुका साथै विद्यार्थी, कर्मचारी तथा प्रहरी घाइते हुन थालेपछि अधिकारीहरूले केही विद्यालय बन्द गर्न थालेका छन् ।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार आन्दोलनका क्रममा प्रहरीले ६ हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ भने ७१५ जना प्रहरी अधिकारी घाइते भएका छन् ।

प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीद्वारा अश्रुग्यास तथा दङ्गा नियन्त्रणका हतियार प्रयोग गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ । विशेषगरी युवा प्रदर्शनकारीमाथि बल प्रयोग गरिएको भन्दै अभिभावक तथा शिक्षकहरूले समेत असन्तुष्टि जनाएका छन् ।

प्रहरीको कारबाहीबाट केही युवा गम्भीर रूपमा घाइते भएका घटनाले आन्दोलनमा थप आक्रोश बढाएको छ । सरकार भने सार्वजनिक सुरक्षा कायम गर्न आवश्यक कदम चालिएको भन्दै आफ्नो प्रतिक्रियाको बचाउ गर्दै आएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनको सरकारमाथि समेत दबाब बढेको छ ।

मजदुर युनियनको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरूले झण्डा र प्लेकार्डसहित विद्यार्थी आन्दोलनप्रति समर्थन जनाएका छन् ।विद्यालयमा अवरोध र प्रदर्शन सेप्टेम्बरको मध्यतिर पेरिस क्षेत्रबाट सुरु भएको थियो । त्यसपछि आन्दोलन फ्रान्सका अन्य सहर तथा नगरमा समेत फैलिएको हो ।

 


Thali Mobile Pvt.Ltd.