भर्खरै : Sorry, your browser does not support inline SVG.

विवादमा तीजका गीत, पाँच गीतमा प्रतिबन्ध

विवादमा तीजका गीत, पाँच गीतमा प्रतिबन्ध

काठमाडौं । बदलिँदो परिवेशमा मनाउने तरिका परिवर्तन भएको चाड तीजका गीतहरू युट्यूबमा धमाधम सार्वजनिक हुँदैछन् । विवादमा पर्नेको संख्या निकै छ । तीज आउन एक महिना बाँकी छ, एक दर्जभन्दा बढी गीत आलोचनाका शिकार भएका छन् ।

पाँच गीतमा भने प्रतिबन्ध लागेको छ । मौलिक गीतहरूको प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्ने उद्देश्यले स्थापना गरेको भनिएको संस्था ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ले तीजलक्षित ५ गीतमा प्रतिबन्ध नै लगाएको हो ।

प्रतिबन्ध लगाइएका गीतहरू हुन्– कविता खत्री र भागिरथ चलाउनेको आवाजमा रहेको ‘दिउँला बरिलै’, प्रिती आलेको आवाजमा रहेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको आवाजमा रहेको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, शान्तिश्री परियार र हरि गिरी बिमर्शीको आवाजमा रहेको ‘बिस्ताराले पोल्यो’ तथा प्रिती आले र प्रकाश शर्माको स्वर रहेको ‘चिर्यस बियर’

सर्जकले ‘बिस्ताराले पोल्यो’ र ‘चियर्स बियर’लाई तीजको गीत भनेर दाबी गरेका छैनन् । यद्यपि यी पनि द्विअर्थी शब्दका कारण दर्शकबाट आलोचित गीत हुन् । यी गीतमा प्रतिबन्ध लाग्नुको कारणहरू– द्विअर्थी शब्द, गलत अर्थ झल्काउने शारीरिक हाउभाउ र नग्नता नै हुन् ।

पछिल्लो पटक प्रतिबन्धित यी गीतका उदाहरण लिँदा प्रतिबन्धको तात्विक असर देखिँदैन । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सञ्चारमाध्यमलाई विकृतिजन्य यी गीतहरू भनेर किटान गरेर स्थान नदिन पत्राचार गरेको सचिव कलम सरगम बताउँछन् ।