तेह्रथुम । वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रमा अहिले हिउँले भरिएको छ । गुराँसको राजधानी भनेर चिनिने सो पर्यटकीय क्षेत्रमा मङ्गलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो । तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मङ्गलबारे र गुफा पोखरी हिउँले सेताम्यै भएका छन् ।
गुराँसका जङ्गल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न आन्तरिक र बाह्य पर्यटकको आगमन बाक्लिएको छ । कञ्चनजङ्गा, मकालु र कुम्भकर्ण हिमाल आँखै अगाडि देख्न सकिन्छ । यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन् ।हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटल ‘बुकिङ’ गरिरहेको होटल व्यवसायी श्री कार्कीले बताए ।
अहिले होटल व्यवस्थापनमा भ्याइनभ्याइ भएको उनको भनाइ छ । हिउँ परेपछि झापा, मोरङ, सुनसरी र भारत बिहार, सिक्किम, पश्चिम बङ्गाल र दिल्लीबाट पर्यटक आउन थालेका छन् । गतवर्ष हिउँ नपर्दा यो क्षेत्रमा कम गुराँस फुलेको जनाइएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा बनेको चोत्लुङ उद्यान, आरआर गार्डेन, पाथिभरा मन्दिर, मङ्गलबारेबाट माथि पाथिभरा मन्दिरसम्मको फुट ट्रयाक अवलोकन गर्न र हेर्न बर्सेनि हजारौँ पर्यटक आउने गर्छन् ।
विशेषगरी हिउँ पर्ने र गुराँस फुल्ने याममा धेरै पर्यटक आउने गरेको वसन्तपुरका होटल व्यवसायी प्रकाश श्रेष्ठले बताए । वसन्तपुरबाट ६ किलोमिटर आरआर गार्डेनको माथिल्लो द्वारसम्म पक्की र त्यहाँबाट ग्राभेल सडक रहेको छ । तीनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, रक गार्डेन, पाथिभरा मन्दिर, मङ्गलबारे, पाँचपोखरीलगायतका पर्यटकीय क्षेत्र हुन् ।
लामो समयपछि पानी पर्दा किसानलाई समेत राहत मिलेको लालीगुराँस नगरपालिका– १ का किसान भरतसिं गुरुङले बताए । तीनजुरे क्षेत्रको पाँचपोखरी छेउमा गुराँसको उद्यान निर्माण गर्न लागिरहेको लालीगुँरास नगरपालिकाका प्रमुख अर्जुन मावोहाङले बताए ।
नगरपालिकाको समन्वयमा विभिन्न दाताको सहयोगमा वसन्तपुरमा निर्मित चोत्लुङ उद्यानमा दैनिक चार–पाँच सय पर्यटक घुम्न आउने गरेको पनि नगरप्रमुख मावोहाङले बताए । चोत्लुङ उद्यानमा बनेका पुराना घर, ढिकी, जाँतो, कुवा र सङ्कलन गरेर राखिएका पुराना सामग्रीको सङ्ग्रहालय हेरेर पर्यटक मोहित हुने गरेका छन् ।
