भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

विदेशी भूमिको भरमा आफ्नो गाउँ फर्किने टिंकरवासीः विकासको प्रतीक्षामा एउटा सीमावर्ती जीवन

विदेशी भूमिको भरमा आफ्नो गाउँ फर्किने टिंकरवासीः विकासको प्रतीक्षामा एउटा सीमावर्ती जीवन

दार्चुला, व्यास–१ । नेपालको नक्सामा चुच्चो भएर ठडिएको सुदूर हिमाली गाउँ टिंकर, जसको प्राकृतिक सुन्दरता अतुलनीय छ, तर राज्यको नजरमा अझै ओझेलमा परेको छ। यहाँका सौका समुदायका बासिन्दा वर्षको आधा समय गाउँबाट विस्थापित भएर तल्लो क्षेत्रमा बसाइ सर्छन्, र चिसो घटेपछि पुनः टिंकर फर्कन्छन्। उनीहरूका लागि यो बसाइसराइ केवल मौसमसँगको संघर्ष होइन, पहिचान र पहुँचको पनि लडाइँ हो।

छ महिनापछि घर फर्कँदा जसपाल तिंकरीले भने, “घरको ढोका जसरी छोडिएको थियो, त्यसैगरी पायौँ – भगवान भरोसाले।” यस्तो धर्म, आस्था र संस्कृतिमा गहिरो जरा गाडेको समुदाय अहिले पनि आफ्नै देशको भूमिमा पुग्न विदेशी अनुमति लिन बाध्य छ।

गोरेटो मेटिँदै, बाटो बन्ने कहिले

पञ्चायतकालमा नेपालकै गोरेटोबाट टिंकर जान सकिन्थ्यो । अहिले भने त्यस गोरेटोको अस्तित्व मेटिँदैछ र विकल्पमा भारतीय बाटो भएर जानुपर्ने बाध्यता छ। विडम्बना, सरकारले चुच्चे नक्सा त जारी गर्‍यो, तर टिंकर जोड्ने बाटो अझै सपना नै रह्यो ।यस आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ विनियोजन भए पनि निर्माण प्रक्रिया ढिलाइले बाटो बन्न सकेको छैन । “नक्सामा हाम्रा घर छन्, तर पुग्न विदेशी अनुमति चाहिन्छ, योभन्दा ठूलो विडम्बना के होला ?” वडा सदस्य हितेश बुढाथोकीको प्रश्न नै यहाँको पीडा हो ।

स्वास्थ्य छैन, सेवा छैन

टिंकरमा अहिलेसम्म स्वास्थ्य चौकी सञ्चालनमा आएको छैन । बिरामी हुँदा खलङ्गाबाट औषधि बोक्नुपर्छ, या भारतको सीमा सुरक्षा बलको शरणमा जानुपर्छ। “सिटामोलसम्म नपाउने ठाउँमा बाँच्नु आफैँमा संघर्ष हो,” स्थानीय जसमल बुढाथोकी भन्छन् ।

सुरक्षा पनि अस्थायी

सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि यहाँ वर्षको मात्र केही महिना बस्छन्। चिसो बढेपछि उनीहरू पनि फर्किन्छन्। टिंकरको सुरक्षा पनि छ महिनाका लागि सीमित छ।

जीवनशैली: आस्था र आत्मनिर्भरता

सौका समुदायको जीवनशैली आत्मनिर्भर र आस्थामा आधारित छ। खेती, जडिबुटी संकलन, चौरी, बाख्रा पालन यहाँको जीविकाको माध्यम हो। यहाँका मानिसहरूको भाषा ‘रङ्ग’ हो, र संस्कृति पूजापाठ, निष्ठा र प्रकृतिप्रति सम्मानमा आधारित छ।

गाउँमा ६ फिटसम्म हिउँ पर्छ, तर अहिलेसम्म चोरी भएको एउटा घटना पनि छैन। “हामीलाई देवताले जोगाएका छन्,” दानसिंह तिंकरीको भावुक भनाइ हो।

विकासको बाटो अझै टाढा

नेपाल सरकारको चुच्चे नक्साले टिंकरलाई कागजी पहिचान दियो, तर पाइला टेक्ने बाटो दिन सकेन। सडक निर्माणमा अनियमितता, ढिलासु ठेक्का प्रणाली र राज्यको कमजोर उपस्थिति मिलेर टिंकरलाई ‘दुर्गम’ होइन, ‘बिर्सिएको भूगोल’ बनाइरहेको छ।

टिंकर, जहाँ राष्ट्रले केवल नक्सा बनायो, पहुँच बनाउने वाचा पुरा गरेन

टिंकर नेपालकाे भूमी हो । नक्सामा पनि, जनताकाे मन मस्तिष्कमा पनि। तर जबसम्म यहाँका बासिन्दाले आफ्नै भूमिमा जान विदेशी बाटो रोज्नुपर्छ, तबसम्म ‘राष्ट्रभक्ति’को कुरा उनीहरूका लागि भावुक सन्देश मात्रै हाे । सिमानाका बासिन्दाले राष्ट्रभक्ति देखाइरहेका छन् । टिंकरको कथा नेपालको सीमाना होइन, सिमाना भित्रको उपेक्षा को  कथा हो।

 


Thali Mobile Pvt.Ltd.