भक्तपुर, १३ जेठ । नेपालमा पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि अपेक्षित विकास नहुनु चिन्ताको विषय भएको भन्दै पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह र व्यवसायीहरूबीच सहकार्य आवश्यक रहेको विचार व्यक्त गरिएको छ।
भक्तपुर नगरपालिकाको आयोजनामा आयोजित “भक्तपुरको पर्यटन प्रवद्र्धन सम्बन्धी छलफल कार्यक्रम”मा पर्यटन क्षेत्रका विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मुलुकको पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै विदेशी पर्यटक आकर्षित गर्न नेपालबारे व्यापक प्रचारप्रसार आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले नीतिगत पहलकदमी बिना पर्यटन विकास सम्भव नरहेको भन्दै सरकारलाई स्पष्ट रणनीति ल्याउन आग्रह गर्नुभयो।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले उठाउँदै आएको पर्यटक सेवा शुल्कबाट सम्पदा संरक्षण, पूर्वाधार विकास, सीपमूलक तालिम तथा अन्य सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले विदेशी सहयोग विना नै भक्तपुरका सम्पदाहरू पुनःनिर्माण गर्नु गौरवको विषय भएको समेत बताउनुभयो।
कार्यक्रममा वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वले भक्तपुरले ऐतिहासिक सम्पदा संरक्षणलाई पुस्तान्तरणको माध्यमका रूपमा हेरेको उल्लेख गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनको खाँचो औंल्याउनुभयो। साथै, पर्यटन व्यवसायीहरूलाई बाह्य पर्यटकमा मात्र निर्भर नरहने रणनीति अवलम्बन गर्न सचेत गराउनुभयो।
भक्तपुर नगरपालिकाको पर्यटक सूचना केन्द्र प्रमुख गौतमप्रसाद लासिवाले नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार र संस्कृति क्षेत्रमा विभिन्न कार्यक्रमहरू अघि बढाएको जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटन प्रवर्द्धन, सामाजिक सञ्जालमार्फत प्रचार, रैथाने वस्तुको प्रवर्द्धन, सुरक्षित खाना, मौलिक सांस्कृतिक कार्यक्रम, छाडा कुकुर नियन्त्रण, र रात्रीकालीन पर्यटनजस्ता विषयमा ध्यान दिनुपर्ने धारणा राखे। साथै, पर्यटक लक्षित सुविधा सम्पन्न शौचालय, सुरक्षाको प्रत्याभूति, र समयानुकूल नीति निर्माणको आवश्यकता पनि जोड दिइयो।
कार्यक्रममा टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल, रेष्टुरेन्ट तथा बार एशोसिएसन नेपाल, होटल एसोसिएसन, ट्राभल एजेन्सी, पर्यटन प्रहरी तथा अन्य संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
