काठमाडौँ, २ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वागत गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङ आफैँ विमानस्थल पुग्नुभएको छ । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन पुग्नुभएका ट्रम्पलाई राष्ट्रपति सीले सेन्जेन विमानस्थलमै पुगेर स्वागत गर्नुभएको हो ।
विदेशी राष्ट्रप्रमुखलाई स्वागत गर्न सी आफैँ विमानस्थल पुग्नुलाई असामान्य कूटनीतिक कदमका रूपमा हेरिएको छ । ट्रम्प विमानबाट ओर्लिएपछि दुई नेताले हात मिलाउँदै एकअर्कालाई अभिवादन गर्नुभएको थियो । विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो भने चिनियाँ तथा अमेरिकी झन्डासहित स्वागत टोली उपस्थित थियो ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले वासिङ्टनमा चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमै पुगेर स्वागत गर्नुभएको थियो । त्यसैको प्रतिउत्तरस्वरूप सीले पनि ट्रम्पलाई व्यक्तिगत रूपमा स्वागत गर्नुभएको विश्लेषण गरिएको छ ।
सीले यसअघि सन् २००९ मा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई विमानस्थलमा स्वागत गर्नुभएको थियो । तर त्यतिबेला उहाँ चीनको उपराष्ट्रपति हुनुहुन्थ्यो । यसअघि सेन्जेन आइपुग्नुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने चिनियाँ राष्ट्रपति सीका चिफ अफ स्टाफ काई चीले स्वागत गर्नुभएको थियो ।
सेन्जेनमा जारी एपेक कार्यक्रमका क्रममा अमेरिका, चीन र रुसका राष्ट्रप्रमुखबीच त्रिपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । उक्त भेटमा क्षेत्रीय सुरक्षा, व्यापार, युक्रेन युद्धलगायत अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
