एजेन्सी, १ मंसिर । युरोपेली संघ (ईयू) का पाँच देशले सन् २०२७ देखि अफ्रिकी मुलुक रुवान्डामा आप्रवासी फिर्ती केन्द्र सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रीस र नेदरल्यान्ड्सले आफ्नो देशमा अवैध रूपमा बसिरहेका तथा देश निकाला गर्नुपर्ने आप्रवासीलाई रुवान्डा पठाउने योजना अघि सारेका हुन् ।
बीबीसीका अनुसार विशेषगरी आफ्नै देशमा फिर्ता पठाउन नसकिने आप्रवासीलाई रुवान्डा पठाउने व्यवस्था गर्न लागिएको हो ।योजनाअनुसार रुवान्डा पुगेका आप्रवासीले त्यहाँको समाजमा घुलमिल भएर बस्न वा आफ्नो देश फर्कन सक्नेछन् ।
सुरुमा परीक्षणका रूपमा सञ्चालन गरिने केन्द्रमा झण्डै एक सय जनालाई राख्न सकिने बताइएको छ । तर, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भने यस योजनाको आलोचना गर्नुभएको छ । उहाँले यसमा मानवता र भविष्य नदेखिएको टिप्पणी गर्नुभएको छ ।
मानवअधिकारवादी संस्थाहरूले पनि आप्रवासीलाई तेस्रो मुलुकमा पठाउने यस्तो व्यवस्थाले उनीहरूको अधिकार उल्लङ्घन हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यता पाँच युरोपेली देशले भने यस योजनाले युरोपेली संघको शरण प्रणालीलाई व्यवस्थित बनाउन र मानव तस्करी नियन्त्रण गर्न सहयोग पुग्ने दाबी गरेका छन् ।
