भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

दाङ । घोराही उपमहानगरपालिका–१३ का दीपकुमार मगर मौरीपालन व्यवसाय गर्छन् । विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको ५९ वर्षीय मगरले बताए ।

व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको दुई दशक बढी भयो । उनले भने, ‘लामो समय भइसक्यो मौरीपालन गर्न थालेको आम्दानी पनि राम्रो भइरहेको छ । यसमा घरपरिवारको पनि सहयोग रहेको छ ।’ मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरी छिमेकी जिल्ला रोल्पा, सल्यान, प्यूठानलगायत जिल्लामा समेत आधुनिक सामग्री पठाउने गर्छन् ।

मगरको मौरी फार्म दुई सय घार क्षमताको भए पनि हाल ४५ मौरी छन् । उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताए । ‘परिवारको सहयोग छ, रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमै आएर पनि लैजान्छन’, मगरले भने, ‘मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।’

अहिले उनको फार्ममा युरोपेली, इटाली, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् । परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । गत वर्ष माग बढेकाले ६ सय प्रतिकिलो बिक्री गर्ने गरेको र यो वर्ष भने खुद्रामा ५ सय प्रतिकिलो मह बिक्री गर्दै आएको उनी बताउँछन् । थोक बिक्रीका लागि भने जिल्ला मौरीपालन व्यवसायी सङ्घको निणर्यअनुसार मूल्य निर्धारण गरिने उनले बताए ।

मौरीपालन व्यवसायबाट उनले वार्षिक १० लाख आम्दानी गर्न सफल भएका छन् । दुई/तीन वर्ष वैदेशिक रोजगारमा रहँदासमेत मगरले विदेशमा मौरीपालन गरेको देखि प्रभावित भएर नेपाल आएपछि व्यवसाय थालेको बताए । २०५७ सालमा सुरु गर्दा जिल्लामा व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सङ्ख्या १७ रहेको उनी स्मरण गर्छन् ।

वर्षा र अत्यधिक चिसो हुने समय ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए । गुणस्तरीय मह भएकाले अधिकांश घरबाटै बिक्री हुने गरेको मौरीपालक किसान मगर बताउँछन् । मौरीपालन व्यवसाय व्यावसायिक रूपमा सुरु गरेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको भनुभव छ । रासस

 


Thali Mobile Pvt.Ltd.