भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

भक्तपुरमा यःमरी पुन्हीको रौनक, ३२ स्थानमा अवलोकन गर्न सकिने

भक्तपुरमा यःमरी पुन्हीको रौनक, ३२ स्थानमा अवलोकन गर्न सकिने

भक्तपुर । भक्तपुर कला, संस्कृति, सम्पदा र परम्पराले भरिपूर्ण शहर हो । आज उपत्यका लगायत देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समूदायले यःमरी पुन्ही धुमधामले मनाइरहेका छन् । भक्तपुरमा यःमरी पुन्हीको रौनकलाई ३२ स्थानबाट अवलोकन गर्न सकिने बनाइएको छ । नेवार समुदायमात्रै होइन विदेशी पाहुनाले पनि धुमधामले यो पर्व मनाउँदैं छन् ।

हेमन्त ऋतुमा पर्ने यो पर्वलाई मार्ग शुक्ल पुर्णिमा अर्थात नेपाल सम्बतको दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्ही’ पनि भनिने सस्कृतिविदहरुको भनाइ छ । नेवार समुदायमा कृषि सम्बन्धी धेरै चाड पर्वहरु छन् । मौसम अनुसारको खानपान गर्न सिपालु नेवार समुदायले पक्वानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पुर्णिमाको दिन मनाईने यःमरी पुन्ही पनि यस्तै ठूलो पर्व हो ।

जुन पर्व स्वादिष्ट पकवान यःमरीको नामबाट प्रख्यात छ । सस्कृतिविद ओमप्रसाद धौभडेलले भने, “यसपर्वमा विशेषगरी चामलको पिठोबाट बनाईने स्वादिष्ट पकवान यःमरी खाने र पुर्णिमाको दिन मनाईने भएकाले यसको नाम यःमरी पुन्ही रहन गएको हो ।” कृषि कर्म गर्नेहरुका लागि मार्ग शुक्ल पुर्णिमा ठूलो पर्व हो । उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यस पर्वलाई मनाउने गर्दछन् ।

नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धर्तीको रुपमा चामलको पिठो, अग्नीको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ । नयाँ धान भित्र्याएको खुशीयालीमा हर्षोल्लासका साथ मनाइने यो चाड भएकाले भक्तपुरमा आज यसको रौनक छाएको छ ।

भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा यःमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ । धानका भकारी लगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविस्वास रही आएको छ ।

यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ । तर यो विस्तारै लोप हुदै गएको सस्कृतिकर्मीको भनाइ छ । यःमरी पुन्हीको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई देउसी जस्तै योमरी माग्ने प्रचलन पनि छ । यो एक प्रकारले देउसी, भैलो कै प्रचलन हो । यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो जसलाई नेपालभाषामा ‘त्यसिंत्य’ भन्ने गरिन्छ ।

युवा पुस्ताहरुले यःमरी माग्न जान छाडेका छन् । आधुनिक संस्कृतिमा युवावर्ग रम्न थालेसँगै लोक संस्कृतिबाट विमुख हुँदैं जाँदा यःमरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदैं गएको सँस्कृतिकर्मीको जिकिर छ ।

कसरी बन्छ यःमरी ?
यःमरी नयाँ धानको चामलको पिठोबाट बनाईन्छ । चामलको पिठोलाई शुद्ध घिउ हालेर तातो पानी हाल्दै मुछ्नु पर्दछ । यःमरीको लागि ताइचिन धानको चामलको पिठो उत्तम मानिन्छ । नरम हुनेगरी पिठो मुछिएपछि हावाबाट बचाउन सफा मखमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुने डर भएकाले यसो गरिन्छ ।

पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्ने र यःमरी फुट्ने डर हुन्छ । त्यसपछि पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजुर जस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ ।

सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र यःमरी तयार हुन्छ । आजभोली यःमरीमा खुवा, मासु, गुँदपाक, मास, मुँगी लगायत सामाग्री राख्ने प्रचलन पनि छ ।
यसरी यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँढमा प्वाल प्वाल भएको माटोको विशेष प्रकारको भाँडो हाँसीमा राखिन्छ । सो हाँसीमा यःमरी राखेर वाफले यःमरी पकाईन्छ ।

करिव ५ मिनेट वफाएपछि यःमरी तयार हुन्छ । पछिल्लो समय यःमरी सस्कृति लोप हुने डरले युवा पुस्तालाई आकर्षण गर्न गित संगीत र म्यूजिक भिडियो पनि बनाउन थालिएको छ । अस्तीबाट सुरु भएको भक्तपुर महोत्सवमा आज यःमरी उत्सव पनि रहेको छ । जसलाई विदेशी पर्यटकहरुको आगमनले झन आकर्षण थपिदिएको छ ।