ऐजेन्सी । बैज्ञानिकहरुलाई थप सफल्ता मिलेको छ । चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनका बैज्ञानिकले सफलता हातपारेका छन् । चन्द्रमाको माटो र ढुंगा लिएर बुधबार चीनको अन्तरिक्षयान ‘च्याङ्गइ–५’ को कार्गो सफलता पूर्वक पृथ्वीमा फर्किएको हो ।
चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (सिएनएसए) का अनुसार यानको कार्गो मङ्गोलियाको घाँसे मैदानमा अवतरण भएको हो । चन्द्रमाबाट त्यहाँको नमूना ल्याउने यो पछिल्लो ४४ वर्षमा विश्वको पहिलो सफल अभियान हो ।
तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले ४४ वर्ष पहिले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो । चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल राष्ट्रको सूचिमा चीनको नाम थपिएसंगै चीन अन्तरिक्षको महाशक्तिमा सामेल भएको छ ।
यस अभियान अन्तर्गत गत नोभेम्बर २३ मा चिनियाँ अन्तरिक्ष यान चन्द्रमाका लागि उडेको थियो।
चिनियाँ यानले डिसेम्बर २ तारिखका दिनसम्ममा चन्द्रमाबाट सफलतापूर्वक त्यहाँको ढुंगा र माटोको नमुना संकलन गर्न सफल भएको थियो। त्यसपछि डिसेम्बर ५ मा चिनियाँ मुन ल्यान्डर रिटर्न मोड्युलको सम्पर्कमा आएको थियो। सोही दिन ल्यान्डरले रिटर्नरमा झन्डै २ केजी चन्द्रमाको ढुंगा र माटोको नमुना पठाउन सफल भयो। सो क्रममा चीनले चन्द्रमामा आफ्नो देशको झण्डा फहरायो ।
सफल्ताका पछि महिलाको योगदान
चन्द्रमाबाट ढुंगा र माटोको नमुना संकलन गर्ने चीनको ऐतिहासिक चन्द्र अभियान सफलतामा महत्वपूर्ण योगदान दिने तीन चिनियाँ महिला वैज्ञानिकको चर्चा संसारभरी भएको छ । २४ वर्षीया महिला वैज्ञानिक चाउ चेङयु सबैभन्दा बढी चर्चामा छिन्। यस अभियानमा चाउ रकेट कनेक्टर प्रणालीको प्रमुखको जिम्मेवारीमा थिइन्।
यस ऐतिहासिक अभियानमा चाउको महत्वपूर्ण योगदानपछि चिनियाँ नागरिकहरुले महिलाको सामर्थ्यलाई उमेर र समाजले छेक्न नसक्ने बताएका छन् । चाइना युनिभर्सिटी अफ माइनिङ एन्ड टेक्नोलोजीमा पीएचडी गरिरहेका वैज्ञानिक वान चाओरान भन्छन्,‘मलाई विश्वास छ एकदिन महिला वैज्ञानिकको कामको बारेमा विशेष रिपोर्टहरु बन्ने छैनन्।
हामी सबै मानव हौं र हामीमा एकै किसिमको क्षमता छ।’ चीनको चन्द्र अभियान ‘चाङ ए’को विषयलाई लिएर चाउसँगै अन्य दुई महिलाको पनि चर्चा भइरहेको छ। सुई यिहान र सन जेनलियानको योगदानको विषय पनि उत्तिकै चर्चामा छ । सुई यिहानले रेकट सफ्टवेर सम्बन्धी कार्यमा योगदान दिएकी थिइन् भने सन जेनलियान रकेट प्रक्षेपण प्रणालीको निर्देशक थिइन् ।
सुईले हालै युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी अफ चाइनाबाट स्नातक सकेकी हुन् । सनभने चीनको लङ–मार्च रकेट प्रक्षेपणलाई सफल बनाइसकेकी वैज्ञानिक हुन् । विज्ञानका कक्षाहरुमा महिला र पुरुषको सहभागीता बराबरी देखिने गरेको छ । सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए–५ अर्थात् यसपटकको अभियानले पनि सघाएको छ ।
चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो र उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बनाएको छ । एजेन्सीको सहयोगमा
