भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले खेलकुदको माध्यमबाट अनुशासित नागरिक तयार हुने तथा अनुशासित युवा जनशक्तिले देश विकास गर्न सघाउ पुग्ने बताएका छन् । भक्तपुर नगरपालिकाको आयोजनामा शहिद दिवसको अवसरमा २०७९ फागुन ५ गतेदेखि ९ गतेसम्म भएको अन्तरनगर खो खो प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोहमा बोल्दै सुवालले उक्त कुरा बताएका हुन ।
सांसद सुवालले खेलकुद मित्रता, अनुशासन र स्वस्थ बन्नको हो भन्नुहुँदै खेलकुदको माध्यमबाट अनुशासित नागरिक तयार हुने तथा अनुशासित युवा जनशक्तिले देश विकास गर्न सघाउ पुग्ने बताउँर्दै नेपालको संविधान संसोधन गरेर संविधानमा खेलकुदलाई मौलिक हकमा समावेश गर्नुपर्ने र १८ वर्षभन्दा माथिका हरेक नागरिकलाई अनिवार्य सैनिक तालिम दिनुपर्ने बताए ।
हाम्रो देशका विभिन्न ठाउँहरुमा सीमा अतिक्रमण भइरहेको तथा लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अहिलेसम्म पनि नेपाली सैनिक र प्रहरी नपुगेको बताउनुहुँदै उनले देशको सीमा तथा सार्वभौमिकता रक्षा गर्न अनुशासित र देशभक्त नागरिक तयार गर्नुपर्ने तर्क गरे ।
प्रधानमन्त्रीलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्षी दल हुन नसक्ने र कानूनत नेपाल मजदुर किसान पार्टी प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने बताउँदै सुवालले खेलाडीहरुले खेलको नियम पालना गरी अनुशासित खेल खलेझैं नेपालको राजनैतिक दलका नेताहरुलाई राजनीतिक अनुशासन सिकाउन आवश्यक रहेको बताए ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रजातन्त्र पुनःस्थापनाको लागि आफ्नो ज्यानको आहुति दिएका महान् शहिदहरुको बलिदानको स्मरणस्वरुप भक्तपुर नपाले प्रत्येक वर्ष फागुन महिनामा अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए ।
भक्तपुर नपाले आयोजना गरेको खो खो खेल प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो खो खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउँदै युवाहरु देशको सार्वभौमिकता रक्षा गर्न सक्षम हुनुपर्ने बताए । कार्यक्रममा बागमती प्रदेशका सांसद सृजना सैंजुले अन्तर नगर खो खो प्रतियोगिता २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा नो जीवन उत्सर्ग गर्ने शहिदहरुप्रति समर्पित रहेको बताउँदै देशमा व्यवस्था परिवर्तन भएपछि पनि गरिब जनताको जीवनमा खासै परिवर्तनको अनुभूति हुन नसकेको बतायन ।
शासक वर्गका नेताहरु भूईमान्छेबाट महलमा पुगिसकेपनि युवाहरुलाई देशमै काम गर्ने वातावरण नरहेको र वर्षेनी लाखौं युवाहरु विदेशिनु पर्ने वाध्यता रहेको बताउँदै सांसद सैंजुले गरिब जनताको जीवन परिवर्तनको लागि समाजवादी व्यवस्थाको आवश्यकता रहेको बताइन ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणका साथसाथै खेलकुद क्षेत्रलाई विेशष प्राथमिकतामा राख्दै आएको बताउँदै देशको सार्वभौमिकता, अनुशासन र मित्रताको लागि भक्तपुर नपाले हरेक वर्ष विद्यालयस्तरीय र अन्तर नगर खेलकुद प्रतियोगिता गरी देशको लागि उत्कृष्ट खेलाडीहरु उत्पादन गर्दै आइरहेको बताइन ।
किर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्यले भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रमा गरिरहेको योगदान उदाहरणीय रहेको बताउँदै कम श्रोत साधनमा पनि खेलाउन सकिने खो खो खेल प्रतियोगिताको सञ्चालनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यस खेलको महत्वप स्थापित गर्न सक्नुका साथै खेलको प्रवद्र्धन समेत हुने तर्क गरिन ।
निकट भविष्यमा किर्तिपुर नगरपालिकाले अन्तर नगर उपमेयर कप भलिबल कप प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिँदै नगरपालिकाहरुलाई सहभागिताको लागि उनले अनुरोध समेत गरिन । भनपा वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले स्थानीय तह निर्वाचनको घोषणापत्र अनुसार अन्तर नगर पुरुष खो खो प्रतियोगितामा १३ वटा नगरपालिका सहभागी रहेको र १४ वटा टीमको सहभागिता रहेको जानकारी दिए ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवादज्ञापन मन्तव्य राखेका थिए भने खेलकुद समितिका सदस्य रामसुन्दर बासीले समेत आफ्नो धारणा राखेका थिए ।
प्रतियोगितामा प्रथम हुने ठाकुरबाबा नगरपालिकालाई ट्रोफी तथा नगद रु. १ लाख ५० हजार, दोस्रो हुने किर्तिपुर नगरपालिकालाई ट्रोफी र रु. १ लाख तथा तेस्रो हुने धनगढी उपमहानगरपालिकालाई ट्रोफी र रु. ५० हजार नगद पुरस्कारका साथै खेलाडीहरुलाई पदक प्रदान गरिएको थियो । खेलमा सहभागी नगरपालिकाहरूलाई मायाको चिनो र नगद रु. ५ हजार पुरस्कार समेत प्रदान गरिएको थियो ।
