काठमाडौं । जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता सिर्जना गर्ने कुरा आफुलाई सह्य नहुले बताएका छन् ।
विश्व मानव अधिकार दिवसका अवसरमा प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन । आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सदभावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन नसक्ने बताए ।
ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको आफ्नो सरकारलाई खबरदारी गर्ने नागरिकको सार्वभौम हकलाई सरकारले सदैव उच्च सम्मान गर्ने ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना नेपाल सरकारले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए ।
