काठमाडौं । परिवारका सदस्यलाई रिझाउन नसके झगडा पर्छ भन्ने मान्यतामा रहेका शिर्ष नेतृत्वहरु यति बेला आफ्नै परिवार केन्द्रित भएर उम्मेदवार उठाउनेमा लागेको गुनासा आउन थालेका छन्। सरकारमा रहदा आफ्ना परिवारका सदस्य र नातेदारहरुलाई पद दिने तथा नियुक्तिहरुमा प्राथमिकतामा राखेका उदाहरणहरु पनि थुप्रै छन् ।
माधव नेपालका भाई अनिलकुमार उपाध्याय कृषि विकास बैंकका सिइओ छन् । बहिनी ज्वाई कैलाश पोखरेल राजदूत नियुक्त भए । भाई सरोजकुमार उपाध्याय नेकपा एसका केन्द्रीय सदस्य छन् । सम्धी सोमप्रसाद पाण्डेका साँढुभाई गोविन्द बन्दी कानून मन्त्री नियुक्त भएका छन् ।
यस्तै आफुलाई अब्बल कम्युनिष्ट सावित गर्न खोज्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि परिवारलाई पद र नियुक्तिहरुमा ध्यान केन्द्रीत बनाएको माओवादी नेताहरुकै भनाइ छ । उनकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिका चितवनकी मेयर छिन् ।
रेनुलाई पुनः मेयर बनाउन प्रचण्डको दौडधुव चल्न थालेको छ । छोरी गंगा दाहाललाई आफ्नै सचिवालयमा राखेका छन् । भाई नारायण दाहाल माओवादीका केन्द्रीय सदस्य छन् । ज्वाईं पनि महत्वपूर्ण पदमा छन् । यस्तै नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा काँग्रेस केन्द्रीय सदस्य छिन् ।
सरकारका सञ्चालनमा निकै महत्वपूर्ण भूमिकाहरुमा उनी देखिने गर्दछ । देउवाले आरजुलाई भावी नेतृत्वका लागि स्थापित गर्न खोजेको चर्चा निकै चल्न थालेको छ । देउवाले सुदूरपश्चिम प्रदेश केन्द्रित कार्यहरुमा सक्रियता देखाएका र्छन् ।
हालै एआइजी बढुवामा सुदूरपश्चिमका तीनैजनालाई बढुवामा पारे । विगतमा आइजीपी नियुक्ति गर्दा पनि उनको सक्रियता आफ्नै क्षेत्रलाई थियो । कतिपय नियुक्तिहरुमा सुदूरपश्चिमकाले प्राथमिकता पाइरहेका छन् ।
यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका नातेदारले उनी प्रधानमन्त्री हुँदा महत्वपूर्ण नियुक्तिहरु समाल्दै आएका थिए । कतिपय राजदूतहरु ओलीका ससुराली खलकका थिए । सरकारका महत्वपूर्ण नियुक्तिहरुमा पनि ससुराली खलककालाई नै भागवण्डामा दिएका थिए ।
ओलीले सबैभन्दा बढी झापाकालाई नियुक्ति दिएको भनेर ओलोचना समेत भएको थियो । गौरादह क्षेत्रकाले विशेष प्राथमिकता पाउने गरेको चर्चा चलिरहेको छ । राजदूत नियुक्ति देखि सरकारी निकायमा भएका नियुक्तिमा झापा नै प्राथमिकतामा ओलीले पारेका थिए । यता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्ना छोरा अमरेन्द्र यादवलाई अघि बढाउन खोजेका छन् ।
विराटनगरको मेयरमा अमरेन्द्रलाई बढाउने नभए सांसद भएपनि बनाउने रणनीति यादवले बनाएको चर्चा छ । अर्का नेता डा. बाबुराम भट्टराई पनि छोरी मानुषी यमीलाई राजनीतिमा अगाडि सारेका छन् । उनले यसपटकको चुनावमै मानुषीलाई अगाडि बढाउने स्रोतको दावी छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि छोरीतर्फका परिवारका सदस्यलाई शक्तिमा ल्याएका थिए ।
अहिले सम्म हेर्दा जसले जनता सर्वोपरि भनेर भाषण गर्दै आए उनीहरुनै सबै भन्दा बढी नातेदार खोज्ने र आफ्नै परिवारलाई राजनीतिक शक्तिमा प¥याउन ध्यान केन्द्रीत गरिरहेका छन् । शक्तिमा पुगेकाहरु परिवार, नातेदार, आफन्त, आफ्नो क्षेत्रमा, छोराछोरी अर्थात अहिले सम्मको सिनारियो नातावाद र कृपावादमा केन्द्रीत गरिरहेका छन् ।
नेपालको राजनीति र चुनावी प्रणालीमा यो किसिमको परिपाठी झन् झन हावी हुदै गएको देखिएको छ । जसका कारण नेताहरुप्रति आमधारणा र दृष्टिकोण नकारात्मक हुदै गएको छ । मुल आशय भनेको म होइन हामी, मेरो होइन हाम्रो र राम्रो, परिवार होइन परको चिन्ता गरेर देशको भविष्य उज्जल बनाउन केन्द्रीत हुनु हो यसमा ध्यान दिन जरुरी छ ।
