काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीले चालेको संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी रस्वेच्छाचारी कदमको नेकपाले भत्र्सना गरेको छ ।
स्थायी कमिटिको बैठकले सो निर्णयको विरोध गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीको माग समेत गरेको छ । जसका लागि पहिले ओलीसंग स्पष्टिकरण माग्ने निर्णयसमेत गरेको छ । अध्यक्षका तर्फबाट प्रचण्डले पार्टीका नेता, कार्यकर्ता, पार्टी पङ्क्तिलाई पार्टी एकतावद्ध भएको र अमुख व्यक्तिका कारण पार्टी, राष्ट्र र जनतालाई कुनै असर नपर्ने बताएका छन् ।
ओलीको कदमले पार्टी एकतालाई कुनै तात्विक असर नपर्ने भन्दै प्रचण्डले त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु ऐतिहासिक कार्यभार भएको बताए । पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई नभत्कीने स्पष्ट पारे ।

