काठमाडौं । इजरायलमा १० नेपालीको निधन भएकोले आज देशभर राष्ट्रिय शोक मनाउँन सरकारले घोषणा गरेको छ । मन्त्रीपरिषद् बैठकले आक्रमणमा ज्यान गुमाएका नेपालीको सम्झनामा राष्ट्रिय शोकको घोषणा हो । आज देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
इजरायल र हमासबिचको द्वन्द्वमा १० जना नेपालीको निधन भएको, चार जना घाइते अवस्थामा रहेको, दुई जना सुरक्षित रहेको र बाँकी एक जनाको अवस्था अज्ञात रहेको जनाइएको छ । ती एक जनालाई हमासले अपहरण गरेको सम्भावना छ । इजरायलमा हाल ४५ सय नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । इजरायलमा अध्ययन गरिरहेका २ सय ६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका थिए ।
यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरू नै आक्रमणमा परेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
