काठमाडौं । न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्यले सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बताएका छन् ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिएका हुन ।
प्रधानन्यायाधीश श्रेष्ठले भने, “पहिला सर्वोच्च अदालतमा परीक्षणका रुपमा मुद्दाको पेशी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ, परीक्षण सफल भए काठमाडौँ जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ ।”
यो प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको उनले बताए । यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने विश्वास उनको छ ।
न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्नका लागि आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्थावृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको ३१ औँ प्रधानन्यायाधीशका रुपमा श्रेष्ठ यही भदौ ४ गते नियुक्त भएका थिए । भदौ ५ गते पद तथा गोपनियताको शपथ लिएर पदबहाली गरेका श्रेष्ठले न्यायालय र कानुनको क्षेत्रमा कलम चलाउने पत्रकारबीच पुलको भूमिका निर्वाह गर्न पछि नपर्ने बताए ।
