काठमाडौं । चाडपर्वलाई लक्षित गरी शुक्रबारदेखि जिल्ला जिल्लामा सुपथ पसल सञ्चालन हुने भएको छन् । उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनका लागि सुपथ पसल सञ्चालन गर्न लागिएको हो । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादन सुपथ मूल्यमा बिक्री गर्ने भएका हुन् ।
कार्यालयको बिक्री केन्द्र रहेका स्थानमा सुपथ मूल्यका पसल शुक्रबारदेखि सञ्चालनमा ल्याइने कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए । चाडपर्वमा उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिनका लागि सरकारले प्रत्येक वर्ष सुपथ पसल सञ्चालन गर्दै आएको छ । चिनी र चामलमा प्रतिकेजी पाँच रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ, गेडागुडीमा प्रतिकेजी १० रुपैयाँ छुट दिइने छ ।
यस्तै घिउमा ५० रुपैयाँ छुट दिने भएको छ । बजारमा बट्टाको घिउ प्रतिकेजी १ हजार ५० र पोलिथिनको घिउ १ हजार रुपैयाँ रहेको छ । उपभोक्तालाई राहत दिनका लागि डीडीसीले प्रति केजीमा ५० रुपैयाँ छुट दिएको छ । यस्तै पनिर किलोमा २० रुपैयाँ छुट दिने भएको छ । शुक्रबारदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ स्थानमा सञ्चालन गर्ने जनाएको छ ।
यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रुपैयाँ तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा १० रुपैयाँ छुट दिने महाप्रबन्धक खनालले बताए । उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री हुने जनाएको छ ।
कर्पोरेसनले पनि उपत्यकासँगै बाहिरी जिल्लामा रहेका बिक्री केन्द्रबाट सुपथ मूल्यमा सामान बिक्री गर्ने छ । चाडपर्वमा अत्यावश्यक वस्तुमा छुट दिनका लागि मन्त्रालयले खाद्य कम्पनीलाई १ करोड ७५ लाख र कर्पोरेसनलाई १ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगन्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री हुने बताइएको छ ।
खाद्य कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन र डीडीसीले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् । कर्पोरेसनले नुन र चिनीसँगै खाद्यान्न बिक्री गर्नेछ । कर्पोरेसनसँग चिनी मोैज्दात सकिएकाले स्वदेशी उद्योगबाट खरिद गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।
कोभिड संक्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भीडभाड नहुने गरी खाद्यान्न बिक्री गर्न मन्त्रालयले तीन कम्पनीलाई निर्देशन दिइसकेको छ । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।
