भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढी प्रभावितको घर सफाइमा जुट्यो कोरियाली स्वयंसेवी टोली | ‘कानुनभन्दा माथि कोही छैन, प्रमाणबिना चिकित्सक र मेडिकल कलेजलाई आरोप लगाउन पाइँदैन’ | पाठ्यपुस्तक छपाइ सुरु, २०८४ मा पनि पुरानै पाठ्यक्रम लागू हुने | ४८७ किलो गाँजा तस्करीका मुख्य आरोपीलाई सरकारी वकिलबाट उन्मुक्ति | बेलायतमा कोभिडको नयाँ भेरियन्ट फैलिँदा अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्यो | कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने | त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य, व्यवस्था नगरे केन्द्र परिवर्तन हुने | इरानसँग सम्झौता वा सैन्य कारबाही, दुवै विकल्प खुला राखेका ट्रम्प |

आन्तरिक पर्यटकको रोजाइमा मैस्याङटार

आन्तरिक पर्यटकको रोजाइमा मैस्याङटार

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित पर्यटकीयस्थल मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । चारैतिर घना जङ्गलको बीचमा अग्लो डाँडामाथि हरिया चउर रहेको मैस्याङटार गाउँपालिका र प्रदेश सरकारको लगानीमा प्रवद्र्धन थालिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

यहाँ नयाँ वर्ष, दसैँ, तिहार, साकेला उभौली तथा मङ्सिरपछि आन्तरिक पर्यटक पुग्नुका साथै स्थानीय बासिन्दा वनभोज (पिकनिक) जाने गरेका थिए । प्राकृतिकरुपमा सुन्दर भएकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस क्षेत्रमा उद्यान तथा पदमार्ग निर्माण गरिएको छ ।

प्रवर्द्धनको काम थालिएसँगै पछिल्लो समय यहाँ घुमफिर र भ्रमण गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताउनुभयो । “यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुव स्मृति उद्यान, मैस्याङटारको शिरमा पुग्ने पदमार्गलगायत संरचना बनिसकेका छन्”, उहाँले भन्नुभयो । वडाध्यक्ष राईले सुम्नीमा–पारुहाङ उद्यान निर्माण भइरहेको उल्लेख गर्दै निर्माणाधीन अवस्थामा पनि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको बताउनुभयो ।

एक हजार एक सय रोपनी क्षेत्रफलमा रहेको मैस्याङटार घुम्न आउनेका लागि विभिन्न ठाउँमा मनोरञ्जन गर्न तथा आराम गर्न मिल्ने फलैँचा बनाइएको छ । पालिका र प्रदेश सरकारको लगानीमा पर्यटन प्रवद्र्धनको काम सुरु भएसँगै घुमफिर तथा दृश्यावलोकनका लागि आउने बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको स्थानीयले बताएका छन् ।

आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परे पनि दिप्रुङ चुइचुम्माको मैस्याङटार रोजाइमा पर्ने गरेको छ । यहाँबाट तराईका विभिन्न फाँट तथा सप्तकोसीस्थित भीमनगरको पुलसमेत देख्न सकिन्छ । यहाँसम्म पुग्न कच्ची सडक बनिसकेको छ । सडकबाट उत्तिस र सल्लाको जङ्गल पार गर्दै करिब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ ।

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको लगानीमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिएको पालिका अध्यक्ष प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “प्रदेश सरकारले गत वर्ष रू १५ लाख विनियोजन गरेको थियो । यस वर्ष रू १० लाख विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “मैस्याङटारको चौतर्फी विकास गर्न स्थानीय अकिराज राईको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेर काम थालिएको छ ।”

मैस्याङटारको चौतर्फी विकासका लागि रु चार करोड ८८ लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिएको छ । डिपिआरअनुसार यहाँ किराँती राजा यलम्बर, बुद्ध, शिव, पार्वती र गणेशको मूर्ति स्थापनाका साथै अतिथि भवनलगायतका संरचना निर्माण गरिनेछ । मैस्याङटारबाट उत्तरी क्षेत्रमा पर्ने सगरमाथादेखि दक्षिणमा तराईका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ ।

 


Thali Mobile Pvt.Ltd.