भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु

दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु

म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार १० महिनापछि काममा फर्किएका छन् । विसं २०७९ वैशाखदेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती भएको थियो ।

ठेकेदार कम्पनी बिरुवा–क्याराभानका आधिकारिक प्रतिनिधि सोमनाथ थकालीले रणवाङमा नाली र पर्खाल निर्माणको काम तीव्रगतिका साथ भइरहेको बताउनुभयो । “बर्खा, चुनाव, नदीजन्य निर्माण सामग्रीको अभावले नियमित काम गर्न समस्या भयो”, उहाँले भन्नुभयो, “आठ किलोमिटरमध्ये लाम्पाटाबाट तोलावाङसम्मको करिब चार किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने लक्ष्यसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाएका छौँ ।”

मङ्गला गाउँपालिकाको लाम्पाटाबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठमा सकिनुपर्ने सडक निर्माणको भौतिक प्रगति ५५ प्रतिशत छ । आगामी २०८० असारसम्म म्याद थपिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।

“जमानी बसेको बैंकलाई पत्राचार गरेर जमानत जफत र कारबाहीको प्रक्रिया थालेपछि बल्ल काममा आएका छन्”, उहाँले भन्नुभयो, “पर्याप्त मजदुर, उपकरण परिचालन गरेर सडक निर्माणलाई तीव्रता दिन ताकेता गरेका छौँ ।” सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । ताकेता र दबाबपछि १० महिनादेखि रोकिएको काम सुरु भएपछि अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने आशा गरेको मङ्गला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताउनुभयो ।

स्थानीयवासीले पूर्वाधार विकास कार्यालय, जिल्ला प्रशासन, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेश सांसद हरिबहादुर भण्डारी, विमला गौचनमार्फत दबाब दिएका थिए । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो ।

 


Thali Mobile Pvt.Ltd.