आफूसँगै सुतेको बच्चाको मृत्युभएपछि आमा पक्राउ

आफूसँगै सुतेको बच्चाको मृत्युभएपछि आमा पक्राउ

एजेन्सी । अमेरिकाको ओहायोमा एक आमाले बच्चालाई आफूसँगै सुताउँदा बच्चाको मृत्यु भएपछि आमालाई पक्राउ गरिएको छ । झण्डै एक वर्षको अन्तरमा उनका दुई बच्चाको मृत्यु भएको थियो । दुवै शिशुको आमासँगै सुतिरहेका बेला मृत्यु भएको जनाइएको छ ।

बच्चाकी आमा २३ बर्षकी ब्रुक हन्टरलाई अनैच्छिक हत्या र बच्चालाई खतरामा पारेको अभियोग लगाइएको छ । गत जुन २२ मा आफूसँगै सुताउँदा उनको ६ हप्ताको बच्चाको मृत्यु भएको थियो । त्यसको करिब एक वर्ष अघि पनि उनको ६ हप्ताको बच्चालाई सँगै सुताउँदा मृत्यु भएको थियो ।

पहिलो बच्चाको मृत्युको समयमा अधिकारीहरूले हन्टरलाई बच्चालाई आफूसँगै सुताउन नहुनेबारे चेतावनी दिएका थिए । तर घटना दोहोरिएपछि आमालाई पक्राउ गरेर बच्चाको हत्याको अभियोग लगाइएको हो ।आमाबाबुहरु सम्भव भएसम्म आफ्ना बच्चाहरूसँग एउटै ओछ्यानमा सुत्न नहुने विज्ञहरुको सुझाव छ ।

एउटै ओछ्यानमा सुत्दा निसास्सिएर, घाँटी थिचिएर वा अन्य कारणले बच्चाको मृत्यु हुनसक्छ । यसको सट्टा दुई वर्ष मुनिका बालबालिकाहरूलाई आफ्नै कोक्रोमा सुताउनुपर्छ । बच्चालाई आमाबाबुसँगै एउटै ओछ्याउनमा सुताउनेकुरा कतिपय संस्कृति वा समाजहरूमा सामान्य हुन सक्छ, तर यसरी सुताउनु शिशुहरूको लागि खतरनाक हुने विशेषज्ञहरू बताउँछन् ।

चार महिनाभन्दा कम उमेरका शिशुलाई अरू कसैसँग एउटै सतहमा सुताउँदा निद्रासम्बन्धी शिशु मृत्युको जोखिम पाँचदेखि १० गुणा बढ्ने विज्ञहरुको भनाई छ । अमेरिकामा हरेक वर्ष करिब ३,५०० शिशुहरूको निद्राका कारण मृत्यु हुने गर्छ । आमाबाबुलाई एउटै कोठामा सुत्न सुझाव दिइन्छ तर बच्चालाई कम्तीमा ६ महिनासम्म आफूसँगै एउटै ओछ्यानमा भने सुताउनुहुँदैन ।

 


Thali Mobile Pvt.Ltd.