दाङ । घरभित्रै एक व्यक्तिको विभत्स हत्या गरेको भेटिएपछि हत्या आरोपमा गाउँकै ३३ वर्षीय मोतिराम चौधरी, उनका ठूला बुवा र काकाका छोराहरु ४८ वर्षीय मनिराम र ३८ वर्षीय धनबहादुर चौधरी पक्राउ परेका छन् ।
राप्ती गाउँपालिका वडा नं ६ पथ्थरगढवाका ४० वर्षीय मोतिलाल चौधरीको माघ ७ गते मध्यराति विभत्स हत्या भएको हो । मोतिरामको हत्यामा संलग्न भनेर प्रहरीले यी तीनै जनालाई मध्यरातमा घरबाटै पक्राउ गरेको हो ।
तीन जनाले मोतिरामलाई घरभित्रै घुसेर विभत्स हत्या गरि घरदेखि ६ सय मिटर टाढा घिसार्दै लगेर कुलोमा फालेको अवस्थामा शव माघ ८ गते बिहान फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले अनुसन्धानबाट खुलेको बताए । जिल्ला प्रहरी प्रमुख एसपी चन्दका अनुसार घटना बुधवार मध्यराततिर घटेको हो ।
तीन काका भतिज मिलेर सुतेका मोतिरामलाई घर भित्रै घुसेर निकाली लाठी र दाउराको चिर्पटले प्रहार गरि हत्या गरेपछि राति नै घिसार्दै लगेर कुलोमा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी चन्दले भने ‘ पक्राउ परेका तीनै जनाले घटना आफूहरुले नै घटाएको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् ।
मोतिराम सानो झिंगटीले बारेको घरमा एक्लै बस्दै आएका थिए । पक्राउ परेका तीनै जना विरुद्ध ज्यान मार्ने मुद्धामा दाङ देउखुरी जिल्ला अदालतबाट थप अनुसन्धानका लागि १० दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।
