अलजजिरा । तालिबानले अफगानिस्तानका थप तीनवटा प्रान्तीय राजधानीहरू एससाथ कब्जामा लिएको छ । शुक्रबार यता ५ वटा प्रान्तीय राजधानीहरूमा नियन्त्रण बनाउन सफल भएको हो ।
आइतबार उत्तरी भागमा रहेका कुन्डुज, सार–ए–पोल र तालोकान केही घण्टाको अन्तरमा तालिबानको कब्जामा पुगेको सहरमा रहेका सरकारी अधिकारी र तालिबानले पुष्टि गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै कुन्डुज सहरका प्रहरी हेडक्वार्टर, गभर्नर कम्पाउन्ड र कारागारलाई नियन्त्रणमा लिएको जनाएको छ । स्थानीय स्रोतका अनुसार सबै सरकारी भवन यतिबेला तालिबानको कब्जामा रहेको छ ।
सेनाको बेस र विमानस्थलमा अफगान सुरक्षाकर्मीहरुले तालिबानसँग भिडन्त गरिरहेको कुन्डुज प्रान्तका सांसद अमरुद्दिन वालीले बताएका छन् । तालिबानले उत्तरी प्रान्त सार–ए–पोलको राजधानी सार–ए–पोललाई पनि कब्जा गरेको जानकारी दिएको छ ।
प्रान्तीय परिषद्का सदस्य मोहम्मद नुर रहमानीले सरकारी भवनलाई नियन्त्रणमा लिएका छन् भने सरकारी अधिकारीहरू भागेर नजिकैको सेनाको बेसमा पुगेका छन् । ताखार प्रान्तको राजधानी तालोकानलाई पनि नियन्त्रणमा लिएको जानकारी लिएको छ ।
स्थानीय जबिहुल्लाह हामिदीले एएफपीसँग कुरा गर्दै उनले सुरक्षाकर्मी र अधिकारीहरूले लामबद्ध भएर सहर छाडेको देखेको बताएका छन् । यसअघि तालिबानले निमरुज र जवजानलाई नियन्त्रण लिएको थियो ।

