काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेवुल भएपछि काठमाडौंको बानेश्वर क्षेत्र रणभूमिमा परिणत भएको छ । आइतबार संसद बैठकमा एमसीसी भएपछि विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले गरेको विरोधका कारण काठमाडौं नयाँ बानेश्वर क्षेत्र रण भूमिमा परिणत भएको हो । संसदमा एमसीसी पेस हुने भएपछि प्रदर्शन कारीहरु विहानैदेखि बानेश्वरमा जम्मा भएका थिए ।
एमसीसीको विरोधमा सत्तारुढ दलकै भातृ संगठनहरुले विरोध गरिरहेका छन् । उनीहरुका माउ पार्टीले संसदमा एमसीसी पेस गर्ने सहमती गरेलगतै भातृ संगठनहरु आन्दोलनमा उत्रिएका हुन । बानेश्वर क्षेत्रमा सडकमै बार राखेर प्रदर्शनकारीलाई संसद भवनतर्फ अघि बढ्न प्रहरीले रोक लगायपछि रवरका गोली समेत प्रहार गरको थियो । प्रदर्शनकारीले बानेश्वरका चौडा सडक भरिँदै गर्दा दुई किनारमा भएका सटरहरु धमाधम बन्द भएका थिए । आन्दोलनकारीहरु र प्रहरीबीचको झण्डमा केही आन्दोलनकारीहरु र केही संख्यामा प्रहरी समेत घाइते भएका छन् ।
