कपिलवस्तु । पश्चिम तराईका महिलाले करवा चौथ पर्व मनाएका छन् । नेपालको पश्चिम तराईमा कपिलवस्तुलगायतका जिल्लाहरूमा आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यका लागि व्रत बसी करवा चौथ पर्व मनाएका हुन । विवाहित मधेसी महिलाले आफ्नो पतिको अटल सौभाग्यका लागि उक्त पर्व मनाउने गरेका छन् ।
कुनै कुनै ठाउँमा पतिको अनुहार चन्द्रमामा हेरेपछि पानी खाएर व्रत तोड्ने गरेको पाइन्छ । खासगरि भारतको उत्तर प्रदेश र विहारसँग जोडिएका नेपाली क्षेत्रमा स्थानीय महिलाले दिनभरि व्रत बसी साँझपख नयाँ चामलको फारा, आसा, तरकारी, पुरी, खीर खाने चलन छ ।
कार्तिक कृष्ण चतुर्थीका दिन निर्जल व्रत बसी पतिको सु–स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै पत्नीहरू दिनभरि नै व्रत बस्ने गर्दछन् ।
करवाचौथका दिन दिनभरि उपवास बसेर राती चन्द्रमालाई अर्घ्य दिएपछि भोजन गर्ने विधान छ । यसबाहेक, करवाचौथको व्रत र उत्सवका क्रममा धेरै जसो महिलाले आफ्नो घरपरिवारमा परम्परादेखि प्रचलित विधिविधान र प्रथालाई अनुसरण गर्दछन् । यद्यपि बहुसंख्यक महिलाले निराहार रहेर चन्द्रोदयको प्रतीक्षा गर्दछन् र चन्द्र दर्शनपछि मात्र व्रतको समापन गर्ने चलन रहेको छ ।
टोलका महिलाहरू एक ठाउँमा जम्मा भइ करवा चौथसँग सम्बन्धित कथा सुनेर धूमधामका साथ पूजापाठ गर्दछन् । रात्रिमा चन्द्रोदय भएपछि चन्द्रदेव र गणेश भगवानको पूजा गरेपछि पतिको हातबाट मीठो परिकार ग्रहण गरी व्रत तोड्ने चलन छ ।
